काठमाडौं - नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डको ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एमाले नेता मानबहादुर रावत, भरत र लोकराज रावत छन्।
अस्पतालका कर्मचारीका अनुसार उनीहरुले संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शंकर पोखरेलको नाम लिँदै आफूहरु पावरमा भएको भन्दै चिकित्सक र नर्समाथि भौतिक आक्रमण गरेका थिए।
दाङका एमाले नेता मानबहादुर रावतका दाईको उपचारचारका क्रम बिहीबार राती ८ बजे मृत्यु भएपछि नेता रावत, मृतकका छोरोलगायतका आफ्न्तले कोभिड आइसीयू कक्षमा प्रवेश गरी चिकित्सक तथा नर्सलाई हातपात गरेका थिए।
‘ज्यान मार्ने उद्देश्य सहित मृतकका आफ्न्तहरु आइसीयूमा छिरेर तोडफोड गरी हाम्रा नर्स र डाक्टरमाथि आक्रमणमा उत्रिए। केही स्टार्फले ज्यान जोगाउन माथिल्लो तलामा हाम फाल्नुभयो। यहाँ निकै दुखद घटना भयो। हामी सबै आत्तिको अवस्था छ,’ भेरी अस्पतालका सुपरीडेन्डण्ट डाक्टर प्रकाश थापाले भने।
कोभिड आइसियुमा खटिएका नर्सहरुले पनि दाङबाट उक्त बिरामी आइसियुमा भर्ना गरेदेखि नै आफ्न्तले हामीसँग प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको पावर छ, हाम्रो बिरामीलाई केही भए राम्रो हुँदैन भन्दै हरेक समय मानसिक ‘टर्चर’ गरेको बताएका छन्।
‘जोसुकैको पावर भएपनि हामी बिरामीलाई छिटै निको होस भनेर स्वास्थ्य सेवामा खटिएका हुन्छौ। अस्पतालमा आएपछि सबै हाम्रा लागि बिरामी हुन, उहाँहरुले पहिलादेखि नै हामी विभिन्न शब्दमा मानसिक टर्चर दिइरहनुभएको थियो। हिजोको घटनाले हामीलाई ड्युटीमै जान डर लागिररहेको छ,’ स्टार्फ नर्स यमकुमारी थापाले भनिन्।
दोषीलाई कारबाही नभएसम्म आफूहरुले ड्युटी ज्वाइन नगर्ने उनले बताइन।
‘घाँटी थिच्ने व्यक्तिलाई हाम्रो अगाडी ल्याउन भनेका छौँ। दोषीलाई कारबाही नभए हामी ड्युटीमा जादैँनौ। सबै अस्पतालको गेटमा छौँ। सिकिस्त बिरामी भएकाले उहाँहरुको ज्यान पनि जोगाउनु पर्यो केही साथी मात्र वार्डमा हुनुहुन्छ,’ उनले भनिन्।
भेरी अस्पतालमा पछिल्लो तीन सातामा चौथो पटक ड्युटीमा खटिएका नर्स तथा चिकित्सकमाथि भौतिक आक्रमण भएको छ। तर, रहेक पटक पावरको बलमा एक जना दोषीलाई पनि कारबाही भएको छैन।
भेरी अस्पतालका कोभिड अस्पतालका फोकल पर्सन डाक्टर संकेत रिजालले पहिलो पटक आक्रमण गर्ने दोषीलाई कारवाही नभएपछि अन्य पटक पनि घटना दोहोरिरहेको बताए।
उनले भने ‘पहिलो घटना हुँदा पनि अस्पताल प्रशासनले कारबाही लागि निवेदन दियौँ। एक सातामै अपराधी छुट्यो। त्यसपछि आजसहित तीन घटना भए, कसैलाई कारबाही भएको छैन।’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका घटनामा निष्पक्ष छानबिन गरिने र दोषीलाई कारबाही गरिने बताएका छन्।
‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ। निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ’ आज बिहान ट्वीट गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्।
गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए।
उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन्। मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो। बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ। बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका छन्।
ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिइन्। घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन्। घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थिए।