काठमाडौं- भेरी अस्पतालमा बिहीबार राती भएको घटनाका विषयमा अस्पतालले सार्वजनिक जानकारी निकालेको छ। अस्पतालले घटनाका विषयमा भएको वास्तविकता बाहिर ल्याएको जनाएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत अस्पतालले घटनाको विवरण सार्वजनिक गरेको हो।
यस्तो छ अस्पतालले जारी गरेको घटना विवरण
गए राति अस्पतालको कोभिड वार्डको ब्लक A मा स्वास्थ्यकर्मीहरूमाथि भएको दुर्व्यवहार र सो आतंकसँग सम्बन्धित परिघटनाहरू -
५२ वर्षिय पुरुष/ दाङ लाई अस्पतालको कोभिड वार्डमा २०७८ जेठ ४ गते भर्ना गरिएको।
दाङबाट प्रेषण भइ ल्याइनुभएको वहाँलाई सुरुका केहि दिन फेस मास्क, त्यसमा सेचुरेसन पर्याप्त नभएपछि Oxygen mask with reservoir bag, र त्यसपछि CPAP (Bain Circuit) मा राखि कोभिड वार्डको Block B मा उपचार गरिएको।
CPAP मा रहँदा पनि सेचुरेसन अस्थिर रहेकोले सुक्ष्म निगरानीमा राखि उपचार गर्न जेठ ९ गते COVID ICU (Block A) को बेड नं १३ मा सिफ्ट गरिएको।
नेपाल सरकार, विभिन्न अन्तराष्ट्रिय स्थापित प्रोटोकलहरू अनुसार उपचार गर्दा पनि बिरामीको अवस्थामा आशातित सुधार हुन नसकेको। अवस्थाको जानकारी पटक पटक बिरामीको पक्षलाई विभिन्न सम्पर्क व्यक्तिहरू मार्फत गराइएको।
बिरामी पक्षले बेलाबेलामा ‘मेरो बिरामीलाई केहि भएमा सबलाई चड्कन लाउँछु; अस्पतालका एक-एकलाई गिंड्छु’ भन्दै स्वास्थ्यकर्मीहरूलाई त्रस्त पारेको।
ICU मा CPAP मा रहँदा पनि साँझ साढे ७ बजेतिर अक्सिजन सेचुरेसन घटेकोले ड्यूटीमा रहेको नर्सले CPAP (Bain Circuit) लाई भेन्टिलेटरमा जोडेर बिरामी बचाउने हरसंभव प्रयास भएको।
स्मरण रहोस् - यसरी भेन्टिलेटर जोडिएको साविकको CPAP mask मा नै हो। घाँटीमा पाइप हाल्ने (Endotracheal Intubation) गरिएको होइन।
बिरामीको सास फेर्ने शक्ति क्षीण भएकोमा मेसिनले सास पम्प गर्दा सेचुरेसन बढ्ला कि भन्ने असल मनसाय र प्रमाणित Standard Operating Procedures (SOPs) अनुसार नै सो निर्णय गरिएको हो।
घटनाको गाम्भिर्यता महशुस गरि ड्यूटीका नर्सहरूले बाहिर रहेका सुरक्षाकर्मीलाई समेत सचेत गराएको।
हरेक प्रयासका वावजुद पनि बिरामीको अवस्था सुधार नहुँदा राती ८:३८ मा मृत्यू भएकोमा बिरामीको भाइ, छोरा लगायत उत्तेजित भिडले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने प्रयास गरेको। नर्सको घाँटी न्याँकेको, टाउकोमा प्रहार गर्न खोजेको तर नजिकैको बेडको बिरामीको आगन्तुकले रोकेको।
स्वास्थ्यकर्मीहरू उत्तेजित भिडबाट बच्न नजिकैको कोठामा लुुक्दा ध्वंसात्मक मानसिकता भएका थप व्यक्तिहरू समेत आइ ढोका, कुर्सी तोडफोड गरेको।
ज्यान जोगाउन चिकित्सक तथा नर्स सोहि कोठाको झ्यालबाट हाम फाल्नुपरेको।
आइसियुमा बाहिरबाट अराजक मानिसहरु घुसपैठ गरि अन्य बिरामीको उपचारमा समेत बाधा परेकाले बेड न A७ र B49 जहाँ स्वास्थ्यकर्मीकै अभिभावकको उपचाररत हुनुहुन्थ्यो, को क्रमश: ९:१५ र १२ बजे मृत्यू भएको।
केहि समयमा अस्पतालका थप स्वास्थ्यकर्मी र सुरक्षाकर्मी आइ अवस्था नियन्त्रणमा लिएको।
आक्रमण गर्ने केहिलाई प्रहरीले पक्राउ गरेको।
राती अबेरस्म प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष, अस्पताल बिकास समितिका पदाधिकारी, चिकित्सकहरू र नर्सिङ कर्मचारी सहितको बैठकले घटनाको अध्ययन गर्न एक टोली गठन गरेको र दोषी पाइएमा कारवाही गर्ने सहमति भएको।
असुरक्षित वातावरणमा काम गर्न नसकिने भनि अस्पतालका सबै (ड्यूटीमा रहेका बाहेक) कर्मचारीहरू बिहानै देखि आन्दोलित भएकोमा हाल जिल्ला प्रशासन कार्यालयमा समस्या समाधानको निम्ति बैठक भैरहेको।
यस्तो विषम् परिस्थितिमा समेत स्वास्थ्यकर्मीहरुले आफ्नो पेशागत दायित्वलाई निर्वाह गर्दै आकस्मिक कक्ष तथा कोभिड वार्डमा भर्नारत रहेका सबै बिरामीहरूको उपचार जारी रहेको।
यो पनि :