काठमाडौं - कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने टोसिलिजुमाव इन्जेक्सन नेपाल भित्रिएको छ।
यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी/२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जनाएको छ। विभागले शुक्रबार सूचना जारी गरी बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरे औषधि प्राप्त गर्न सकिने जनाएको छ।
उक्त औषधिको मूल्य प्रति भाइल ५९ हजार ८ सय ५० तोकिएको छ। औषधि खरिदका लागि बिरामीका आफन्तले बिरामी भर्ना भएको अस्पतालको सिफारिस पत्रमा कोभिड-१९ अस्पतालको आधिकारिक चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रर नम्बर र हस्ताक्षर सहित फोन नम्बर पेश गर्नुपर्नेछ।
यसका साथै बिरामीको पुर्जा, कोरोनाको पीसीआर टेस्टको पोजेटिभ रिपोर्ट, औषधि खरिद गर्न आउने आफन्तको फोन र फोटो सहितको परिचय पत्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
अस्पतालको र बिरामीको नाम, सिफारिस गरेको औषधिको परिणाम र औषधि बुझिलिने बिरामीको आफन्तको नाम समेत खुलाई चिकित्सकको नाम र काउन्सिलको रजिष्ट्रर नम्बर खुलाई ९८५१०२०९६० मा अनिवार्य एसएमएस गरी आयातकर्तालाई पठाउनुपर्ने विभागले जनाएको छ।
कुनै पनि बिरामीको लागि चिकित्सकले एक पटकमा एक भाइल मात्र र बढीमा एक बिरामीलाई दुई पटक गरी दुई भाइलसम्म मात्र सिफारिस गर्न सकिने विभागले जनाएको छ।