काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपति भण्डारीले शनिबार मन्त्रिपरिषद्को सिफारिसबमोजिम आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन्। संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट आगामी आव २०७८र७९ को बजेट भाषण गर्दै छन्। त्यसैका लागि राष्ट्रपतिले तीन अध्यादेश जारी गरेकी हुन्।
अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्ने बताइएको छ।
कोभिड–१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने अर्थ मन्त्रालय स्रोतको भनाई छ। स्रोतका अनुसार यसपटक स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब बजेट आउदै छ।
स्वास्थ्यले ६३ अर्बको बजेट सिलङ पाएको थियो। तर कोभिड संकटका कारण यसको रोकथाम, उपचार, नियन्त्रणका लागि बजेटको आकार बढ्ने अनुमान गरिएको छ।
बजेटमा स्वास्थ्यकर्मीको कोभिड भत्ताका विषय पनि समावेश भएको बताइएको छ।