काठमाडौं– जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका ४ जना कर्मचारीलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ।
अस्पतालका निर्देशक डा राम कुमार श्रेष्ठका अनुसार जेठ १२ गते सेवाग्राही तथा सर्वसाधारणबाट अवैध रुपमा शुल्क लिएर कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेको पाइएपछि ४ जना कर्मचारीलाई निलम्बन गरिएको हो।
निलम्बनमा पर्नेमा अस्पतालका कर्मचारी सुधन पन्त, आनन्द प्रसाद ढुंगाना, विधान तिमिल्सना र मदन श्रेष्ठ रहेका छन्।
केन्द्रले उपचारका लागि आउने बिरामीलाई सुरुमा एन्टीजेट विधिबाट कोरोना परीक्षण गरि थप पीसीआर परीक्षण गर्नुपर्ने भएमा स्वाब संकलन गरी पोखरामा पठाउने गरेको थियो। तर यसरी पीसीआर परीक्षण गर्दा अस्पतालले बिरामीसँग शुल्क लिने गरेको छैन।
तर यी ४ जना कर्मचारीले भने बिरामीसँग प्रतिबिरामी ३ हजारसम्म शुल्क लिएर पोरखामाा स्वाब पठाउने काममा संलग्न भएको पाइएपछि उनीहरुलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाइएको निर्देशक डा श्रेष्ठले जानकारी दिए।
‘बिरामीसँग पैसा लिएर उनीहरुको स्वाब पोखरा पठाउने कार्य अस्पतालहाताभित्र नै गरेको र हाम्रै कर्मचारी संलग्न भएको पाइएपछि उनीहरुको विषयमा छानविन तथा कारबाही प्रक्रिया अघि बढेको छ,’ निर्देशक डा श्रेष्ठले भने, ‘त्यसैले हामीले उहाँहरुलाई निलम्बन गरेका हौं।’