काठमाडौं- रेमडिसिभिर औषधिलगायतका स्वास्थ्यको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गत ६ हप्ताको अवधिमा अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेमडिसिभिरलगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गरेकाे आराेपमा उनीहरुलाई पक्राउ गरेकाे हाे।
उक्त अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने र ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने रहेका छन्।
२ जना रेमडिसिभिर बढी मूल्यमा बिक्री गर्ने, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गर्ने, १ जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी विक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँड्डुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने रहेका छन् ।
उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रेमडिसिभिर तथा १ थान नक्कली रेमडिसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद भएको थियो ।
सो अवधिमा काठमाडौं, रामेछाप, काभ्रेपलान्चोक, बारा, महोत्तरी, खोटाङ, बर्दिया लगायतका जिल्लाहरूमा सवारी साधन दुरुपयोग गरी बढी भाडा लिएर यात्रु बोक्ने सवारी साधनहरूलाई कारबाही गरिएको छ ।
साथै, बाँके नेपालगंज उपमहानगरपालिका ८ स्थित मारुती नन्दन जनरल स्टोरबाट प्रयोग अवधि समाप्त भएका करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको खाद्य सामग्री बरामद गरी प्रहरीसहितको संयुक्त अनुगमन टोलीबाट नष्ट गरिएको थियो ।
पक्राउ परेका उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान थालिएकाे छ।