काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठीले नेपालमा दर्ता नै नभएको कोरोनिल औषधि लिएका छन्। भारतमा निकै विवादित रहेको आयुर्वेद संस्था पतञ्जलीले बनाएको १५ हजार कोरोनिल आयुर्वेदीक औषधि मन्त्री त्रिपाठीले लिएका हुन्।
पतञ्जलीले बनाएको उक्त कोरोनिल औषधि नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागले पुष्टि गरेको छ। दर्ता नै नभएको औषधि लिन र वितरण गर्न नमिल्ने विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए।
उनले भने, ‘यो कोरोनिल औषधि विभागमा दर्ता भएको छैन। उहाँहरुको प्रक्रियामै छ। तर स्वीकृति पाइसकेको छैन। दर्ता नभएको औषधि वितरण गर्न मिल्दैन।’
यसअघि पनि औषधि व्यवस्था विभागले यो औषधि दर्ताका लागि अनुमति रोकेको थियो। कुनै पनि औषधि बिना दर्ता नेपाल ल्याउन नमिल्ने कानूनी व्यवस्था छ।