काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिने भएका छन्। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हटाएर उनको स्थानमा तामाङलाई मन्त्रीको जिम्मेवारी दिने पक्का भएको हो।
आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको जानकारी दिँदै तामाङले स्वास्थ्यखबरसँग भने, 'कोरोना महामारीका बेलामा मलाई महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ। यसलाई म अवसरका रुपमा लिएर पूरा गर्न लागिपर्ने छु।'
प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।
नयाँ मन्त्रीहरुको सपथ ८ बजे हुने बताइएको छ।
शुक्रबार साँझ जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउने टुंगो लागेसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद्मै ठूलै हेरफेरको तयारी गरेका हुन्।
स्रोतका अनुसार ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेकामध्ये अब विष्णुप्रसाद पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्त नेम्वाङ मात्र दोहोरिनेछन्।
पौडेल अर्थमन्त्री छन्। उनलाई शुक्रबार साँझ नै उपप्रधानमन्त्रीको समेत शपथ गराइने भएको छ। श्रेष्ठ शिक्षामन्त्री हुन् भने लीलानाथ कानून र नेम्वाङ भौतिक पूर्वाधार मन्त्री छन्।