काठमाडौं - औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेसले उत्पादन गरेको कोभिड-१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ।
उक्त खोपलाई शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उक्त खोप १८ वर्ष माथिका व्यक्तिले लगाउन सक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको उक्त खोप आयात अनुमतिका लागि बायोमेटिक्स प्रालिले विभागमा निवदेन दिएको छ। हाल बायोमेटिक्सले आयातका लागि अनुमति पाइनसकेको केसीले जानकारी दिए।
उनले भने, ‘चिनियाँ कम्पनी सिनोभ्याकले उत्पादन गरेको कोरोना भ्याकलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका हौँ। यो खोप ल्याउनका लागि बायोम्याटिक्स प्रालिले आवेदन दिनु भएको छ। अनुमति पाइसक्नु भएको छैन। प्रक्रियामै छ।’
आफूहरुले आयात अनुमतिका लागि निवेदन दिएको र आइतबारसम्म अनुमति पाउन सक्ने बायोम्याटिक्सका निर्देशक बिके भण्डारीले बताए। अनुमति पाएसँगै उक्त कोरोनाभ्याक खोप नेपाल ल्याउने प्रक्रिया सुरु गरिहाल्ने उनले बताए।
‘हामीले यो खोप आयातका लागि विभागसँग अनुमति मागेका छौँ। आइतबारसम्म अनुमति पाउँछौ होला’ उनले भने।
विभागबाट अनुमति पाए मे महिनाको अन्त्यसम्ममा १० लाख डोज ल्याउने उनले जानकारी दिए। बायोम्याटिक्सले उक्त खोपको मूल्य प्रतिडोज दुई हजार एक सय रुपैयाँ तोकेको छ।
उनले भने, ‘आयातका लागि अनुमति पाएपछि हामी मे महिनाको अन्त्यसम्ममा १० लाख डोज ल्याउन सक्छौ। हाल प्रति डोज २१ सय तोकेका छौँ। तर आइतबारसम्म निर्णय हुन्छ।’