काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: मन्त्रिपरिषद विस्तार र फेरबदल गरेका छन्। शुक्रबार साँझ जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउने टुंगो लागेसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद्मै ठूलै हेरफेर गरेका हुन्।
यो हेरफेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मन्त्रिपरषदबाट हटाइएका छन्। प्रधानमन्त्री ओलीले त्रिपाठीलाई हटाएर नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।
तामाङलाई स्वास्थ्यको जिम्मेवारी दिइएको जानकारी पाएपछि त्रिपाठीले स्वास्थ्यखबरसँग छोटो प्रतिक्रिया दिँदै भने- 'म मन्त्रिपरिषदबाट बाहिरन लागेको हो।'
उनले अन्य विषयमा भने केही दिनपछि कुराकानी गर्ने बताए।
त्रिपाठी गत पुस १० गते स्वास्थ्यमन्त्री नियुक्त भएका थिए। मन्त्रि नियुक्त भएको छोटो समयमा नै भारतबाट कोभिडविरुद्दको खोप ल्याएका कारण उनको प्रशंसा भएको थियो।
तर त्यसपछि खोप खरिदका विषयमा एजेन्टहरुले खेलेको विषय बाहिर आएको थियो। उक्त कुरा मन्त्री त्रिपाठीले पनि स्वीकार गरेका थिए। तर उनले एजेन्टको नाम सार्वजनिक नगरेपछि उनको तीव्र आलोचना सुरु भएको थियो।
मन्त्रीबाट बाहिरीने दिन पनि उनी विवादमा आएका थिए। नेपालमा दर्ता नै नभएको अवैध औषधि मन्त्रालयमा नै दाताबाट लिएपछि उनको ओलोचना भएको हो।
भारतमा निकै विवादित रहेको आयुर्वेद संस्था पतञ्जलीले बनाएको १५ हजार कोरोनिल आयुर्वेदीक औषधि मन्त्री त्रिपाठीले लिएका हुन्। पतञ्जलीले बनाएको उक्त कोरोनिल औषधि नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागले पुष्टि गरेको छ।