• मेरो बच्चाको अझै बोली फुटेको छैन।
• मेरो बच्चा आफ्नो उमेरका अन्य सरह बोल्दैन।
• मेरो बच्चाको बोली प्रस्ट छैन।
• मेरो बच्चा अरुसंग बोल्न रुचाउँदैन।
• मेरो बच्चाको बानी अरु भन्दा निकै भिन्न छ।
माथिका भनाइहरू अहिलेको समयमा धेरै सुनिदै आइरहेका छन्। केही बुबा आमा यस्ता समस्यालाई लिएर अस्पताल आउने गर्छन् भने धेरै जसो अविभावक यस्ता कुरालाई बेवास्ता गर्ने गर्छन्। बच्चा १/२ वर्ष पुग्दा पनि बोलीको विकास नहुँदा, पछि बोल्छ भन्ने सोचले गर्दा समस्या जटिल बन्ने गर्दछ।
बच्चाले आफ्नो उमेर सरह नबोल्नुलाई मेडिकल भाषामा “delayed speech and language”भनिन्छ। यसका कारणहरू विभिन्न हुन्छन्। धेरै जसो बच्चामा सुनाईको कमजोरीले गर्दा समयमा बोली विकास नहुने हुन्छ। यस बाहेक विभिन्न disorders ले गर्दा पनि समयमा बोली विकास नहुन सक्छ। अटिजम, अटिजम स्पेक्ट्रम डिसअर्डर, रिसेप्टिभ एक्सप्रेसिभ ल्याङ्वेज डिसअर्डर, एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर, डाउन सिन्ड्रोम र अन्य थुप्रै कारणले गर्दा बोली विकास र व्यवहारमा समस्या ल्याउने गर्छ।
त्यस बाहेक यसको अर्को मुख्य कारण अहिलेको व्यस्त जीवनशैली बनेको छ। प्राय आमाबुबा आफ्नो कार्यालय र व्यापार तथा अन्य पेशामा व्यस्त हुन्छन्। बच्चालाई हातमा मोबाइल वा टिभी देखाएर काममा जाने गर्छन्। यसो गर्दा बच्चाले दोहोरो कुराकानी गर्न पाउँदैन र अरुसंग बोल्न नरुचाउने बानीको विकास हुन्छ। बच्चालाई राइम्स र कार्टुनका कुरा सबै याद भएपनि बोलेर गर्ने काममा कमी आउने गर्छ। यसले गर्दा पछि गएर मोबाइल वा अरु ग्याजेटको लत लाग्ने गर्छ र बच्चामा रिसाउने, रुने, कराउने, आफूलाई चोट पुर्याउने जस्ता बानीको विकास पनि हुन सक्छ।
त्यसैले यस्ता समस्या आउन नदिन हरेक बुबाआमाले बेलैमा सोच्न जरूरी छ। यस्ता समस्या देखिएमा बच्चाको डाक्टरलाई देखाइ, नाक, कान र घाँटीको जाँच गराई speech and language therapy गराउनु पर्दछ। भकभाकाउने, बोली प्रस्ट नहुने, नाके स्वर आउने, निल्न अप्ठ्यारो हुने, स्वरमा समस्या छ भने पनि Speech Language Pathologist लाई भेटेर सल्लाह सुझाव लिन सकिन्छ।