काठमाडौं- पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नवनियुक्त मन्त्री शेरबहादुर तामाङलाई मन्त्रालयमा रहँदा आफूले भोगेका अनुभव सुनाएका छन्। मन्त्रालयमा त्रिपाठीलाई बिदाई र तामाङलाई स्वागत गर्न आयोजित कार्यक्रममा त्रिपाठीले मन्त्रालयमा रहँदाका अनुभव र भावी दिन गर्नपर्ने विषयमा सुझाव दिएका हुन्।
कार्यक्रममा मन्त्री त्रिपाठीले सचिवालयलाई धेरै छुट दिन नहुने कुरामा जोड दिनएका छन्। उनले सचिवालयलाई धरै छुट दिँदा मन्त्रालयका काममा बिचौलिया पस्ने डर रहेको बताएका हुन्।
'सचिवालयलाई धेरै छुट दिन हुन्न नत्र बिचौलिया पस्ने डर हुन्छ', कार्यक्रममा उनले भने।
मन्त्री त्रिपाठी आफ्नो कार्यकालमा कोभिड खोप खरिदका क्रमममा विवादमा आएका थिए। उनले खोप खरिदका क्रममा बिचौलियाले अवरोध सिर्जना गरेको बताए पनि ति बिचौलियाका बारेमा भने सार्वजनिक गरेका थिएनन्।
आफू विवादमा आएपछि मन्त्री त्रिपाठीले घुमाउरो पारामा प्रधानमन्त्री तहबाट नै यसमा समस्या आइरहेको कुरा सार्वजनिक गरेका थिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री त्रिपाठीबीच तिक्तता आएको बताइएको छ।
कोभिड खोप खरिदका विषयमा बिचौलियाले खेलेका कारण नेपालमा भारतको सेरम इन्स्टिच्युटबाट खरिद गर्ने भनिएको ५० लाख डोज खोप खरिद प्रक्रिया रोकिएको थियो। यस्तै नेपालले रकम भुक्तानी गरिसकेको १० लाख डोज खोप पनि आउन सकेको छैन।
मन्त्री त्रिपाठीले कामका क्रममा आफूले केही कडा बोलेको पनि स्वीकार गरेका छन्। उनले माताहतका निकायका कर्मचारीसँग अन्य नियतले नभइ कामकै सिलसिलामा कडा बोलेको बताए।
कार्यक्रममा मन्त्री त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश पनि मन्त्रालयले प्रस्ताव गरेभन्दा धेरै फरक आएको जानकारी दिएका छन्।