काठमाडौं– ताइवानको चु ची फाउन्डेसनको सहयोगमा नेपाल चिकित्सक संघले विभिन्न अस्पताल, मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ।
संघका महासचिव डा बद्री रिजालका अनुसार सो फाउन्डेसनले उपलब्ध गराएको करिब तीन करोड मूल्य बराबरको स्वस्थ्य सामग्री सबै प्रदेशका अधिकांश स्थानीय तह, प्राथमिक स्वस्थ्य केन्द्र तथा केन्द्रीय अस्पताल, मेडिकल कलेज लगायत २०० भन्दा बढी स्वास्थ्य संस्थामा सहयोग गर्न लागिएको हो।
स्वास्थ्य संस्थामा सहयोग गर्न चु ची फाउन्डेसनले संघलाई अक्सिजन प्लान्ट ५ थान, भेन्टिलेटर १० थान , बाइ प्याप मेसिन २००,हाइ फ्लो न्याजल क्यानोला २००, मोनिटर ४०, अक्सिजन कन्सन्ट्रेटर ५०५, सर्जिकल मास्क १६ हजार, पीपीई २ हजार, गाउन ३ हजार र ग्लोब्स् १ लाख ४० हजार थान सहयोग गरेको छ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै संघका अध्यक्ष डा लोचन कार्कीले संघले कोभिडको पहिलो लहरदेखि नै चिकित्सकको स्वास्थ्य सुरक्षा तथा बिरामीलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन विभिन्न कार्य गर्दै आइरहेको जानकारी दिए।
डा कार्कीले कोरोना महामारीमा खटिएका चिकित्सक संक्रमित हुनसक्ने जोखिम भएकाले उनीहरुका लागि संघले क्वारेन्टाइन बनाएको, स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको र चिकित्सकका लागि नि:शुल्क पिसिआर परीक्षणको व्यवस्था समेत गरिएको बताए।
यस्तै, होम आइसोलेसनमा रहेका बिरामीहरुलाई चिकित्सकीय परामर्शका लागि कल सेन्टरको समेत व्यवस्था गरी फोनमार्फत परामर्श दिने गरिएको पनि डा कार्कीले बताए।
उनले कोरोना महामारीमा खटिएका करिब एक हजार चिकित्सकलाई क्रिटिकल केयर तालिम समेत दिइएको जानकारी दिए।