काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उपचार शुल्क बढी लिने निजी अस्पताललाई कानुनी कारबाही गरिने बताएका छन्। मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले सरकारले तोकेकोभन्दा बढी उपचार खर्च लिनेलाई अनुगमन र कारबाहीको दायरामा ल्याइने बताएका हुन्।
कोभिड बिरामीले सरकारी अस्पतालमा उपचार नपाउने र निजीमा चर्को उपचार खर्च तिर्नुपरेको गुनासो आइरहेकोबारे तामाङले अब मन्त्रालयले त्यसको प्रभावकारी अनुगमन गर्नेमा जोड दिए।
'म आफैँले समेत कोभिड उपचारका लागि ४० लाखसम्म खर्च भएको सुनेको छु,' उनले भने, 'त्यसकार अब सरकारले तोकेकोभन्दा बढी उपचार खर्च लिनेलाई अनुगमन र कारबाहीको दायरामा ल्याइने छ। सरकारले उपचारका लागि निश्चित रेन्ज तोकेको छ, त्यसभित्र रहेर काम गर्नुपर्छ। हामी अनुगमनलाई प्राथमिकताका साथ अघि बढाउँछौँ।'
उनले बढी उपचार खर्च लिएकोबारे उजुरी गर्न पनि बिरामीका आफन्तलाई आग्रह गरेका छन्।
पछिल्लो समयमा सबैभन्दा धेरै शुल्कको विवादमा ह्याम्स अस्पताल आएको छ। अस्पतालले पिसिआर परीक्षणदेखि संक्रमितको उपचारमा चर्को शुल्क असुल्दै आइरहेको छ। अस्पतालले एक दिनकै ५० हजारसम्म शुल्क लिने गरेको पाइएको छ।