काठमाडौं- आजदेखि देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदैछ। चीन सरकारद्वारा अनुदानमा १० लाख डोज भेरोसेल खोप उपलब्ध भएपछि आजदेखि खोप अभियान सुरु गर्न लागिएको हो।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार देशव्यापी रूपमा स्थानीय तहको समन्वयमा ६० देखी ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनावरिुद्धको खोप लगाइने कार्यक्रम रहेको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका लक्षित सम"हलाई खोप दिइने बताए।
यसअघि संचालन भएको खोप अभियानमा भेरोसेलको पहिलो मात्रा लिई उपत्यका बाहिर भएको कारण वा अन्य कारणले दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरुका लागि पनि खोप कार्डको अनुगमन गरी दोस्रो मात्रा खोप दिन समेत मन्त्रालयले निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयले तिब्बतसँग सीमा जोडिएका हिमाली जिल्लाका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने जनाएको छ। खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जानसमेत उनले आग्रह गरिएको छ।
यसैबीच, काठमाडौँ महानगरपालिकाले आजदेखि ३२ वटै वडामा कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन गरी खोपको पहिलो मात्रा दिने तयारी गरेको छ।
महानगरपालिकाले तय गरेका खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा दिने गरी तयारी गरिएको हो।
ती केन्द्रमा जेठ २५ देखि २९ सम्म सञ्चालन हुने खोप कार्यक्रममा क्रमशः २५ गते ६४ वर्ष, २६ गते ६३, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाको सहरी स्वास्थ्य विभागले जनाएको छ।
खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ।