काठमाडौं - काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गरी १ देखि ३२ वटासम्म सञ्चालन भएका खोप अभियान अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ। जेठ २५ देखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने सरकारको निर्धारित कार्यक्रम थियो।
माग अनुसारको खोप नआउँदा खोप अभियान स्थगित भएको काठमाडौं स्वास्थ्य कार्यालय प्रमुख बद्री बहादुर खड्काले बताए। आफुहरुले १ लाख ६६ हजार खोपको माग गरेपनि ६४ हजार मात्र खोप आएको उनले जानकारी दिए।
उनले भने, ‘खोप नआएसम्म अभियान स्थगित नै हुन्छ। हामीले १ लाख ६६ हजार खोप माग गरेका थियौँ। तर ६४ हजार खोप मात्र आएको थियो।’
काठमाडौं जिल्लामा करिब ४० र काठमाडौं महानगरमा करिब २८ हजार ४ सय ९६ जनाले खोप लगाएको उनले जानकारी दिए। ६० देखि ६४ वर्ष उमेरका व्यक्ति काठमाडौंमा १ लाख ६६ हजार र काठमाडौं महानगरमा मात्र १ लाख ३ हजार जना रहेको कार्यालयले जनाएको छ।
‘काठमाडौं महानगरपालिकाको ३२ वडामै एकै पटक खोप अभियान सञ्चालन गर्न खोजियो। तर माग अनुसारको खोप नआउँदा अभियान स्थगित गर्नुपर्यो’ उनले भने।