काठमाडौं- अत्तरखेलस्थीत नेपाल मेडिकल कलेज बिक्री हुने प्रक्रिया अगाडि बढेको छ। मेडिकल कलेजको शेयर बिक्रीका लागि कलेजले सार्वजनिक सूचना निकालेपछि प्रक्रिया अगाडि बढेको हो।
कलेज स्रोतका अनुसार मेडिकल कलेज खरिदका लागि हालसम्म नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, नेसनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसुरुद्दिन अन्सारी र गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले चासो दिएका छन्।
तर कलेजको शेयर बिक्री गर्ने विषयमा भने विषयमा भने हाल कलेजमा रहेका शेयरधनीहरुबीचमा नै विवाद छ। विवादका कारण कलेज तत्काल बिक्री हुने वा नहुनेमा पनि अन्यौल देखिएको छ।
स्रोतका अनुसार कलेजलाई करिब १० अर्बमा बेच्ने प्रक्रिया अगाडि बढाइएको छ।
'कलेज खरिद गर्ने विषयमा तीन जनाले रुचि देखाए पनि हामीबीचमा नै विवाद हुँदा केही समस्या आइरहेको छ,' स्रोतले भन्यो, 'अहिलेसम्म सुनिल शर्मा, बसुरुद्दिन अन्सारी र उपेन्द्र महतोले कलेज किन्ने तयारी गर्नु भएको छ। तर यसमा हाम्रो विवादले केही समस्या आइरहेको छ।'
कलेजका अध्यक्ष डा भोला रिजाल हुन्। कलेजमा ओम अस्पताल, डा सच्चेकुमार पहारी र अञ्जनीकुमार शर्माका छोराहरु डा अनिल पहारी र डा सुनिल शर्मा लगायतको शेयर रहेको छ।
२०५२ सालमा फागुन २५ गते नेपाल स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत नाफारहित संस्थाका रुपमा उक्त कलेज स्थापना भएको थियो। तत्कालिन समयमा डा सच्चेकुमार पहारीको नेतृत्वमा डा अञ्जनी कुमार शर्मा, डा रामरत्न उपाध्याय, इन्जिनियर दिपक भट्टराई, लम्बोदर न्यौपाने लगायतको सक्रियतामा कलेज स्थापना भएको हो।
कलेजमा २०५६ सालमा प्रालीमा परिणत गरिएको थियो। सोही समयपछि कलेज र कलेजको शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमाथि श्रम शोषण सुरु भएको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियनले जनाएको छ।
युनियनले अहिले कलेज खरिद बिक्रीका क्रममा कर्मचारीमाथि अन्याय हुन नहुने कुरामा जोड दिएको छ। युनियनले विज्ञप्ति निकाल्दै वर्तमान अवस्थामा सम्बन्धित खरिदकर्ता तथा बिक्रीकर्तालाई संस्थाको विकामा अवरोध उत्पनन नगर्न तथा स्वास्थ्यकरमीहरुको हकहितलाई सम्बोधन गर्नबाट बिचलित विमुख नहुन ध्यानाकर्षण गरेको छ।
'कर्मचारीहरुको हक अधिकारको सम्बन्धमा संस्थाले छुटाउने, हटाउने, घटाउने वा कर्मचारीलाई कुण्ठित पार्ने कार्य भएको अवस्थामा कर्मचारी युनियन कर्मचारीहरुको हक हितका विषयमा हात बाँधेर नबस्ने समेत जानकारी गराउँदै सम्बन्धित सरोकारवालाहरुबाट कर्मचारीहरुको हक हितको सुनिश्चितता होस भनी सचेत गराउँदै यस सम्बन्धमा सजग रहन समेत अनुरोध सहित ध्यानकर्षण गराउँदछु' यनियनका सचिव उमेश कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
हेरौं कर्मचारी युनियनको विज्ञप्ति