काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विषयमा आपत्ति जनाउँदै विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
प्रतिष्ठानमा भएका भ्रष्टाचार, अनियमितता र प्रतिष्ठानको अस्तित्व ध्वस्त पार्ने काम भइरहेको विषय उठाएका डा पोखरेललाई उपकलुपति डा ज्ञानेन्द्र गिरीले तीन दिन भित्र स्पष्टीकरण दिन भन्दै पत्र काटेका थिए।
सोही विषयप्रति आपत्ति जनाउँदै प्रतिष्ठानका सम्पूर्ण संगठनको संयुक्त संर्घष समितिले फ्याकल्टी वेलफेयरका अध्यक्षलाई सोधिएको स्पष्टीकरण विनाशर्त २४ घण्टाभित्र फिर्ता लिनुपर्ने र विना जायज कारण स्पष्टीकरण सोधिएकाले माफी समेत माग्नुपर्ने र राष्ट्रिय संचार माध्यम र जनसरोकार मार्फत यस प्रतिष्ठान बारेमा उठेका अनियमितता, भ्रस्टाचार लगायत वेथितिको बारेमा छानविन गर्न प्रशासन समेतको संलग्नतामा सबै पक्षको सहभागितामा उच्चस्तरीय शक्तिशाली समिति बनाउने र सो को सुझाव तत्काल लागु गरिनुपर्ने माग राखेको छ।
संघर्ष समितिले माग पूरा नभएसम्म र अर्को सूचना नभएसम्म हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म उपकूलपति कार्याललय अघि सम्पूर्ण फ्याकल्टी, जुनियर रेसिडेन्ट, विधार्थी र कर्मचारीको उपस्थितिमा विरोध सभा गर्ने र शान्तिपूर्ण र्याली गर्ने जनाएको छ।
जारी विज्ञप्तिमा भनिएको छ,‘राष्ट्रियस्तरका संचारमाध्यममा आइरहेको अनियमिताबारे उठेका प्रश्न उठिरहँदा हामी सबैलाई चिन्तित तुल्याएको छ। यस्ताबारे आवाज उठाउन पाउने सविधानप्रदत्त मौलिक अधिकार यस विषयमा सामाजिक संजालमा आफ्नो विचार राखेको आधारमा प्रतिष्ठानले यसरी फ्याकल्टीमाथि नै प्रहार गरेर भोलिका दिनमा यहाँ हुने सबै कुकार्य र अनियमितामा कसैले आवाज उठाउन नपाओस भन्ने कुत्सित मनशाय राखेको र संबिधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई हरण गरेको प्रतिनिधि घटनाको रुपमा हामीले बुझेका छौँ्र। यस्ता खालका गतिविधि कुनै हालतमा स्वीकार्य नहुने र ससक्त प्रतिकार गरिने व्यहोरा जानकारी गराइन्छ।’
समितिले माग पुरा नभएसम्म कडाभन्दा कडा अन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ।