काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिने भएको छ।
स्वास्थ्यमा सुधार नभएको र कतिपय रिपोर्ट दिल्लीबाट आउन ढिला हुने भएका कारण नेता खनाललाई थप उपचारका लागि भारत लैजान लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।
‘विगत नौ दिनदेखि ज्वरो आइरहेको छ, रोकिएको छैन। कतिपय रिपोर्ट दिल्लीबाट आउँन ६/७ दिन लाग्ने भयो। रगतमा हेमोग्लोबिनको कमी देखिएको छ। आज बेलुकासम्म दिल्ली लैजाने कुरा भएको छ, मेदान्तमा लैजाने कि भन्ने छ,' आचार्यले भने।
चिकित्सककै सल्लाहमा दिल्ली लैजाने तयारी गरिएको उनले जानकारी दिए। खनाललाई यसअघि कोरोना संक्रमण भएको र त्यसकै असरसमेत भएको हुनसक्ने चिकित्सकहरुले बताएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल सोमबार नर्भिक भर्ना भएका थिए।