काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार पनि संयुक्त संर्घष समितिले विरोध कार्यक्रम गरेको छ।
अनियमिताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।
बुधबार उनीहरुले वर्षाको समेत परवाह नगरी छाता ओढेर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले प्रतिष्ठान परिसरमा र्याली पनि गरेका थिए।
उपकुलपति कार्यालयअघि भेला भएका चिकित्सक तथा विद्यार्थीहरुले प्रतिष्ठानको मेन गेट, बुद्धचोक, शिवमार्ग हुँदै डेन्टल कलेज पुगेर पुनः उपकुलपति कार्यालय अघिसम्म र्याली निकालेका थिए । मौसम अनुकूल भएमा भोली बिहीबार भानुचोकसम्म र्याली निकाल्ने संयुक्त संघर्ष समितिले जनाएको छ।