काठमाडौं– दोस्रो चरणको कोरोना भाइरस संक्रमण पछिल्लो केही दिनयता घटिरहेको छ। तर देशका केही जिल्लामा भने पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार नियमति प्रेस विफ्रिङका क्रममा मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा उदयपुर, पाँचथर, तेह्रथुम, नुवाकोट, नवलपरासी पूर्व, रोल्पा, हुम्ला, जुम्ला, रुकुम पश्चिम, दैलेखमा संक्रमितको संख्या बढिरहेको छ भने सुदूरपश्चिमका डोटी र बाजुरामा पनि पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ।
बाँकी जिल्लामा संक्रमण कम भइरहेको मन्त्रालयको भनाइ छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा झन्डै ५ सय कोरोना संक्रमित थपिएका छन्।
विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४९९ जनामा संक्रमण पुष्टि भएकाे हाे।
थपिएकामध्ये सबैभन्दा धेरै काठमाडौंका ३५४ रहेका छन्। यस्तै, भक्तपुरमा ७९ र ललितपुरमा ६६ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८२८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो।
मन्त्रालयका अनुसार ८ हजार ६८७ जनाको पिसिआर र ४ हजार ३३५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार १४ जना र एन्टीजेटमार्फत ८१४ जना संक्रमित पुष्टि भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५५८ जना संक्रमितको मृत्यु भएको छ।
२४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४३ हजार ५२१ जना संक्रमित निको भइसकेका छन्।