काठमाडौं- सामान्य सावधानी अपनाइएन भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्छ। मास्क नलगाउने, भौतिक दूरी कायम नगर्ने र साबुन पानीले समय समयमा हात नधुने हो भने यो भाइरसले धेरैलाई एकै पटक संक्रमण गराउँछ।
संक्रमितको उपचार हुने अस्पतालमा भाइरस नसरोस् भनेर स्वास्थ्यकर्मी तथा कर्मचारीले सुरक्षाका लागि मास्क, फेस सिल्ड, पिपिई, पञ्जा लगायतका उपाय अपनाएका हुन्छन्। आइसीयू तथा आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीले पिपिई लगाएका तस्बिरहरु हामीले देख्दै आइरहेका पनि छौं।
संक्रमितको उपचारमा खटिएका यी सुरक्षा कवच र अन्य फोहोर पनि संक्रामक हुने खतरा उत्तिकै रहन्छ। अस्पतालका अन्य फोहोरभन्दा यी फोहोरको विशेष र वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
कोभिड संक्रमितको उपचार गर्ने अस्पतालहरुले फोहोरको व्यवस्थापन कसरी गरिरहेका छन् त?
नेपालगञ्जस्थित भेरी अस्पतालले कोभिड वार्डबाट निस्कने फोहोरलाई तीन चार दिनसम्म छुट्टै स्थानमा राख्छ। त्यसपछि उक्त फोहोरलाई फोहर व्यवस्थापनका लागि सम्झौता गरेको संस्थाबाट आएका व्यक्तिले लिएर जान्छन्।
अस्पतालमा पिसिआर प्रयोगशालाबाट निस्केको फोहोर निर्मलीकरण (अटोक्लेभ) गरिन्छ भने अन्य फोहोरलाई ब्यागमा तीन, चार दिन राखेपछि त्यसमा भएको भाइरस मर्छ भन्ने मान्यता अनुसार त्यसपछि मात्र व्यवस्थापन गरिन्छ।
अस्पतालमा अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि ठूलो अटोक्लेव मेसिन नभएकाले प्रयोगशालाबाट निस्केको फोहोर मात्र अटोक्लेभ गरिन्छ। भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ड डा प्रकाश थापा अस्पतालमा फोहोर व्यवस्थापनका लागि अटोक्लेभ मेसिन सहितको व्यवस्थाका लागि प्रक्रिया अघि बढेको बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई भने सुरुवाती दिनमा कोभिड वार्डबाट निस्केको फोहोर व्यवस्थापनको लागि निकै समस्या भएको थियो।
नेपालमा कोरोना भाइरस संक्रमित फेला परेपछि उपचार सेवा सुरु गर्ने पहिलो अस्पताल भएकाले पनि कोभिड वार्डबाट निस्केको फोहोर व्यवस्थापनमा समस्या आएको अस्पताल निर्देशक डा सागर राजभण्डारी बताउँछन्।
डा राजभण्डारी सम्झन्छन्–‘कोभिड–१९ संक्रामक रोग भएका कारण संक्रमितको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गरेका उपचार सामग्री तथा संक्रमितले प्रयोग गरेका सामग्रीको वैज्ञानिक व्यवस्थापन कसरी गर्ने? हामी निकै अन्यौलमा थियौँ। तर सरुवा रोग अस्पताल भएकाले विगतमा अन्य संक्रामक रोगको उपचारका क्रममा निस्केका फोहोर व्यवस्थापनको अनुभव भएकाले कही सहज भने भयो।’
अस्पतालले कोभिड संक्रमितको उपचारका क्रममा निस्किएका स्वास्थ्य सामग्री तथा फोहोरलाई वैज्ञानिक ढंगले निसंक्रमण गर्ने काम गर्यो। तर निसंक्रमण गरेको फोहोरलाई फाल्ने काममा भने जटिलता आयो। कोरोना सर्ने डरले नगरपालिकाको फोहोर उठाउने व्यक्तिहरु त्यहाँ गएनन्। न त फोहोर खरिद गर्ने मानिसहरु नै गए।
कोरोना भाइरसको संक्रमण कसरी फैलिइरहेको छ भन्ने विषयमा अन्योल रहेको र सुरुवातमा त्रास बढी भएकाले अस्पतालमा फोहोर थुप्रिँदै गयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमितको उपचार गर्ने अस्पतालले फोहोरको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समयमा नै उचित गाइडलाइन दिन सकेको थिएन। त्यसपछि अस्पतालले महानगरपालिकासँग छलफल गरेर वैज्ञानिक ढंगबाट निसंक्रमण गरिएका फोहोरको व्यवस्थापन गर्न सुरु गरेको थियो।
निर्देशक डा राजभण्डारीका अनुसार अस्पतालले अहिले स्वास्थ्यजन्य फोहोरलाई निर्मलीकरण (अटोक्लेभ) गरी छुट्याएर काम नलाग्ने फोहोर महानगरपालिकामार्फत र अन्य पुनः प्रयोग हुने बिरामीले प्रयोग गरेका कपडा, पिपिई लगायतका सामग्री अस्पतालमा नै वैज्ञानिक ढंगमा सफा गर्ने गरेको छ।
अहिले टेकु अस्पतालमा अस्पतालजन्य फोहोरको वैज्ञानिक ढंगले व्यवस्थापन गर्न ‘सेन्टर फर एक्सलेन्सी’ को रुपमा संरचना निर्माण गर्न लागिएको छ। निर्देशक राजभण्डारी त्यसबारे जानकारी दिँदै भन्छन्,‘उक्त कन्ट्रस्क्सन बन्यो भने सबै फोहोर त्यहीबाट पुनः प्रयोग गर्न सकिने, नसकिने सबै फोहोर छुट्टिन्छ। तर लकडाउनका कारण त्यसको निर्माणमा ढिलाई भएको छ। त्यसका लागि हामीलाई जिआइजेटले सहयोग गरिरहेको छ।’
सशस्त्र प्रहरी कोभिड अस्पताल, बलम्बुका कोभिड फोकल पर्सन डा प्रवीण नेपालका अनुसार सो अस्पतालले कोभिड–१९ का बिरामी राख्न थालेदेखि नै त्यहाँबाट निस्कने फोहोरको व्यवस्थापन अस्पतालभित्रै नै गर्दैै आएको बताए।
उनले कोरोना संक्रमणको सुरुवाती दिनमा महानगरपालिकाले कोभिडका बिरामीबाट निस्कने फोहोर बोक्न नमानेपछि अस्पतालभित्रै कोभिड वार्डको फोहोर व्यवस्थापन गर्न थालेको बताए।
उनले भने,‘अहिले पनि हामीले कोभिड बिरामीबाट निस्केको फोहोरलाई अटोक्लेभ गरी कुहिने र गाड्न मिल्ने फोहोर गाड्छौँ। पुनः प्रयोग गर्न मिल्ने केही फोहोर हामीले निर्मलीकरण गरेर पनि प्रयोग गर्छौं। पुनः प्रयोग गर्न नमिल्ने र गाड्न नमिल्ने फोहोरलाई जलाउने गरेको छौँ।’
अस्पतालमा फोहोर गाड्न तीन वटा ठूलाठूला खाल्टा बनाइएको छ। पालैपालो त्यसमै फोहोर गाड्ने गरिन्छ। फलामको राख्ने स्थान बनाई त्यसमा नै जलाएर धुवाँ व्यवस्थापन गर्ने पाइप बनाइएको उनले बताए।
ननकोभिड बिरामीको फोहोर भने पहिलेदेखि नै महानगरपालिकाको गाडीले नै लैजाने व्यवस्था छ।
त्रिवि शिक्षण अस्पतालमा भने पहिल्यदेखि नै अस्पतालको फोहोर व्यवस्थापनको सुविधा भएकाले कोभिड फोहोरको व्यवस्थापनमा समस्या भएन।
अस्पतालकी नर्सिङ प्रशासक तथा फोहोर व्यवस्थापन युनिटकी कोअर्डिनेटर धर्मलक्ष्मी श्रेष्ठले शिक्षण अस्पतालमा फोहोर जलाउने इिन्सिनेटर भएकाले त्यसमै राखेर जलाउने गरेको बताइन्।
उनले भनिन्,‘कोभिड वार्डबाट धेरैजसो निस्कने फोहोर, खानेकुरा सबै अटोक्लेभ गरेर अनि लगाउने गरेका छौँ। पिपिई पनि डिस्पोजल र ननडिस्पोजल हुन्छ। एक पटक लगाएपछि अर्को पटक प्रयोग नहुने पिपिई पनि जलाउने गरेका छौँ।’
संक्रमितहरुको उपचार गर्ने अस्पतालको फोहोर अन्य अवस्थामा भन्दा थप जोखिमयुक्त हुन्छन्। संक्रामक र सामान्य फोहोरलाई समयमा नै छुट्याउन सकिएन भने अस्पतालका सबै फोहोर संक्रामक हुन्छन् र त्यसले गम्भीर असर निम्त्याउने खतरा रहन्छ। सामान्यतयाः अस्पतालबाट निस्कने फोहोरमध्ये २० प्रतिशत फोहोर संक्रामक हुन्छन्। तर अस्पतालभित्र नै त्यसलाई छुट्याइएन भने सतप्रतिशत फोहोर संक्रामक हुनपुग्छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालबाट निस्कने फोहोरलाई संक्रामक, सामान्य, कुहिने, नकुहिने गरी हरेक वार्ड तथा विभागमा नै छुट्याउन आवश्यक हुन्छ। त्यसपछि ती फोहोरलाई अटोक्लेभ गरी वा माइक्रोवेभ जस्ता वातावरणमैत्री प्रविधिबाट निर्मलीकरण र व्यवस्थित गर्ने काम गर्नुपर्छ। यी सबै कुरा गर्न सम्भव नभए ७ दिनसम्म सुरक्षित रुपमा भण्डारण गरी सुरक्षित तरिकाले खाडलमा पुर्न सकिने व्यवस्था समेत रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ असारमा कोभिड–१९ महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन अन्तरिम निर्देशिका समेत जारी गरेको छ।
उक्त निर्देशिकामा सबै बिरामी (कोभिड–१९ संक्रमित, कोभिड शंकास्पद लगायत) लाई स्याहार गर्दा उत्पादित सम्पूर्ण फोहोमैलालाई संक्रमित फोहोरमैलाको रुपमा लिने र उक्त फोहोर प्रष्ट लेबल लगाइएका भाँडाहरु बाल्टिन/बिनमा र धारिलो वस्तुहरुलाई सुरक्षित बक्सभित्र संकलन गरी राख्नुपर्ने व्यवस्था गरिएको छ। यस बाहेकका सम्पूर्ण स्वास्थ्यजन्य फोहोमैला व्यवस्थापनका चरणहरु जस्तैः फोहोर कम उत्पादन गर्ने, वर्गीकरण गर्ने, संकलन गर्ने, ओसारपसार गर्ने, भण्डारण गर्ने, उपचार गर्ने र विसर्जन गर्ने विषय निर्देशिकामा उल्लेख छ।
अहिले पनि केही अस्पतालहरुमा मात्र राम्रो तथा व्यवस्थित स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन प्रणाली सञ्चालनमा छन्। जहाँ फोहोर निर्मलीकरण गर्ने अटोक्लेभहरु प्रयोग भइरहेका छन्।
प्रायजसो अस्पतालले अस्पताल हाताभित्रै खाडल बनाई फोहोर जलाउने गरेको पाइन्छ भने केही अस्पतालले नगरपालिकाको गाडीमार्फत सिधै ल्यान्डफिल साइटमा पठाउने गरेको देखिन्छ। यस्ता क्रियाकलापले स्वास्थ्यकर्मी, सेवाग्राही, बिरामी कुरुवा, फोहोर छुट्याउने र छान्ने व्यक्तिहरु र सो क्षेत्रको नजिक बसोबास गर्ने आमसमुदायमा गम्भीर वातावरणीय र स्वास्थ्य संकट निम्त्याउने खतरा रहेको छ।
उक्त निर्देशिकाले फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विभिन्न चरण समेत छुट्याएको छ। जसमा फोहोरमैलाको उत्पादनलाई घटाउने, फोहोरमैलालाई छुट्याउने÷वर्गीकरण गर्ने, फोहोरमैला संकलन, ओसारपसार तथा भण्डार, फोहोरमैलाको उपचार, फोहोर उत्पादन हुने क्षेत्रमा नै खाल्टो खन्ने र पुर्ने विधि, प्राकृतिक रुपमा नै नष्ट हुन छाडिदिने, विर्सजन र सुरक्षा तथा स्वास्थ्य चरणहरु फलो गर्नुपर्ने उल्लेख छ।
मन्त्रालयका अनुसार सामान्य अवस्थामा स्वास्थ्य संस्थाबाट निस्कने फोहोरलाई जोखिमयुक्त र साधारण फोहोरको रुपमा वर्गीकरण गरिएको हुन्छ।
जोखिमयुक्त फोहोरको समुचित व्यवस्थापन गर्न सकिएन भने बिरामी, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीहरु सँगसगै समुदायलाई पनि संक्रमणको डर हुन्छ।
कोभिडको समयमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सम्पूर्ण फोहोर संक्रमणयुक्त हुन्छन्। संक्रमित व्यक्तिले खाएको खाना, भाँडा र छोइएका कागज, प्लास्टिक लगायतका सामान्य फोहोर समेत जोखिमयुक्त मानिन्छ। स्वास्थ्य संस्था, क्वारेन्टाइन र आइसोलेसनबाट निस्कने सबै फोहोर व्यवस्थापनमा सर्तकता अपनाउनुपर्ने हुन्छ।
अस्पतालमा निस्कने फोहोरमध्ये कुहिने फोहोर हरियो बाल्टीमा, नकुहिने फोहोर निलो बाल्टीमा, प्याथोलोजिकल, धारिलो औषधिजन्य तथा साइटोटोक्सिक फोहोर रातो बाल्टीमा, जोखिमयुक्त रासायनिक फोहोर पहेंलो र जोखिमयुक्त रोडियोधर्मी फोहोर कालो रङको बाल्टिनमा जम्मा गरिन्छ।
अहिले कोभिड अस्पतालमा आइसोलेसनमा उपचारत रहेकाहरुले त्यसरी छुट्याएर राखेका बाल्टिनमै फोहोर राख्ने गर्छन्। बाल्टिनमा पहिले नै प्लास्टिकको झोला राखिएको हुन्छ। त्यो बाल्टिन भरिएपछि अस्पतालका सरसफाइ कर्मचारीले व्यक्तिगत स्वास्थ्य सुरक्षा (पिपिई) लगाइए ती बाल्टिनमा संक्रमणरहित बनाई त्यो झोलाको मुख राम्रोसँग बाँधेर फोहोर बोक्ने ट्रलीमा बाँधेर फोहोर संकलन गर्ने स्थानसम्म लैजाने गर्छन्।
स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशिका अनुसार फोहोरमैला संकलन, ओसारपसार तथा भन्डारण गर्न सबैभन्दा पहिला सम्पूर्ण संक्रमित फोहोरलाई स्पष्ट रुपमा लेबल गर्नुपर्ने, धारिला फोहोरहरुको लागि नछेडिने र अन्य फोहोरको हकमा बायो हजार्ड ब्याग सहितका नफुटने, छिद्र नभएका भाँडाहरु (बिर्का भएका बिन, बाल्टी) मा सुरक्षित तरिकाले संकलन गर्नुपर्ने उल्लेख छ। यसरी छुट्याएको संक्रमण नभएको फोहोरमैलालाई पनि सुरक्षित रुपमा संकलन गरी बलियो प्लास्टिकको झोलामा बाँध्नुपर्छ र सावधानीपूर्वक नगरपालिकाको फोहोरमैला व्यवस्थापन प्रणालीमा पठाउन सकिने कुरा निर्देशिकामा उल्लेख छ।
अस्पतालमा निस्कने फोहोरमध्ये कुहिने फोहोर हरियो बाल्टीमा, नकुहिने फोहोर निलो बाल्टीमा, प्याथोलोजिकल, धारिलो औषधिजन्य तथा साइटोटोक्सिक फोहोर रातो बाल्टीमा, जोखिमयुक्त रासायनिक फोहोर पहेंलो र जोखिमयुक्त रेडियोधर्मी फोहोर कालो रङको बाल्टिनमा जम्मा गरिन्छ।
यसका साथै अन्य संक्रमित फोहोर जस्तैः रगत तथा शरीरका अन्य तरल पदार्थ मिश्रित फोहोरमैला, प्रयोगशाला नमुना, प्रयोग गरिएका केमिकल, स्वाब, पट्टी, कपास, प्रयोग भएका उपचार सामग्री, मानव अंग, तन्तु, धारिलो वस्तुलाई पूरै बन्द हुनेगरी बायोहाजार्ड चिह्न भएको भाँडामा जम्मा गर्नुपर्छ र छुट्टै संक्रमणमुक्त गर्ने प्रक्रियामा लानुपर्छ। यस्तो अति संक्रमित फोहोरमैलाको व्यवस्थापन उत्पादन भएदेखिको २४ घन्टा भित्रमा गरिसक्नुपर्ने कुरा निर्देशिकामा उल्लेख छ।
घरेलु बिरामी स्याहारमा प्रयोग हुने ग्लोब्स, मास्क र अन्य फोहोरलाई बिर्को भएको फोहोर संकलन गर्ने भाँडामा बिरामीको कोठाभित्र नै राख्नुपर्छ र संक्रमित फोहोरको रुपमा उचित विसर्जन गर्न सकिन्छ।