काठमाडौं- काठमाडाैं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएको छ। आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार ट्याक्सीसहितका निजी सवारी साधनलाई जोर-विजोर प्रणालीमा चल्ने दिइनेछ। जोर नम्बरका सवारी जोर गते र विजोर नम्बरका सवारी विजोर गते चल्न दिइनेछ।
यस्तै, पसलहरू बार अनुसार चलाउने निर्णय गरिएको छ। अधिकारीका अनुसार आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइनेछ।
यसैगरी, सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी र टेलरिङ पसल खोल्न दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
निर्माणजन्य सामग्रीका पसलहरू हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न दिइने। खाद्यान्न, दूध, किताब, फलफुल र माछामासुका पसलहरू बिहान ११ बजेसम्मखोल्न दिइनेछ।
उनका अनुसार रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।