काठमाडौं– सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त भएका छन्।
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतको यो आदेशसँगै स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसहित २० जना मन्त्रीको पद गुमेको हो।
तामाङ १९ दिन अघि मात्र स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए। यो अवधिमा उनले खासै काम भने गर्न पाएनन्।
उनले जेठ २१ गते शनिबार स्वास्थ्य मन्त्री नियुक्त भएसँगै राती १० बजे नै स्वास्थ्य मन्त्रालय आएर पदबहाली गरेका थिए।
त्यसको भोलि पल्ट उनले स्वास्थ्य मन्त्रालय अन्र्तगत मातहतका कर्मचारीहरुसँग बिफ्रिङ लिएका थिए।
उक्त समयमा उनले आफ्नो पहिलो प्रयास कोभिड खोप ल्याउन पहल गर्ने बताएका थिए। यद्यपि कोभिड खोप खरीदमा कुनै प्रक्रिय अघि बढेको छैन।
परराष्ट्र मन्त्रालय मार्फत चीनबाट ४० लाख खोप खरीद हुन लागेको समाचार आएपनि स्वास्थ्य मन्त्रालयले त्यसको खण्डन नै गरिसकेको छ।
मन्त्रालयले जेठ २४ गते गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री तामाङले सरकारले तोकेकोभन्दा बढी उपचार खर्च लिनेलाई अनुगमन र कारबाहीको दायरामा ल्याइने बताएका थिए।
कोभिड बिरामीले सरकारी अस्पतालमा उपचार नपाउने र निजीमा चर्को उपचार खर्च तिर्नुपरेको गुनासो आइरहेको बारे तामाङले अब मन्त्रालयले त्यसको प्रभावकारी अनुगमन गर्ने पनि उनले बताएका थिए। यद्यपि यस विषयमा पनि प्रगति भने भएन।
सरकारले एक चिकित्सक÷स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएपछि त्यसको विरोध भइरहेपनि स्वास्थ्यमन्त्रीले त्यसमा भएका असन्तुष्टिबारे छलफल भने चलाएनन्।
पछिल्लो समय भने उनी आफ्नो गृहजिल्ला सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीपहिरोका कारण उतै व्यस्त थिए।