काठमाडौं- अदालतको आदेशपछि पदमुक्त भएका निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिन मन्त्री रहँदाका उपलब्धि सार्वजनिक गरेका छन्।
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ र २७ गते गरेको मन्त्रिपरिषद् विस्तार र पुनर्गठनको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार खारेज गरेको थियो। अदालतको आदेशसँगै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसहितका १७ मन्त्री र ३ राज्यमन्त्री पदमुक्त भएका थिए।
१९ दिन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका तामाङले आफूले मन्त्रीको रुपमा गरेको काम र त्यसको ४ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन्।
यस्तो छ तामाङले सार्वजनिक गरेको उपलब्धि
१.कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न। खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको। (यदी पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ। राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन।)
२. सबै नेपाली जनताको स्वास्थ्य उपचार नि:शुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रियाको शुरूवात।
३. सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चितता गर्ने प्रकृयाको आरम्भ भएको।
४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल सुरु भएको।