काठमाडौं- दोस्रो लहरको कोरोना भाइरसले ज्येष्ठ नागरिक मात्र होइन, युवा र बालबालिकालाई पनि प्रभावित बनायो।
यसमा पनि कतिपय साना बालबालिकालाई पनि कोरोना संक्रमण भइरहेको पाइएको छ। बालबालिकालाई संक्रमण भएपनि उनीहरुका अभिभावकले बच्चालाई लगाउँदै आएको नियमित खोप खोप कार्यक्रम लगाउन मिल्छ कि मिल्दैन भन्ने द्धिविधा भएको पाइएको छ।
नियमित खोप कार्यक्रम अन्तरगत बिसिजी, डिपिटी, डिपिटी, हेपबी, हिब, पोलियो, पिसीभी, रोटा, जेई, दादुरा रुबेला लगायतका खोप कार्यक्रम संचालन हुँदै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवम् बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले शिशुहरुलाई नियमित रुपमा दिने खोपहरुले उनीहरुलाई गम्भीर संक्रामक रोगहरुबाट बचाउने भएकाले खोप छुटाउन नहुने बताए।
उनले भने,‘बालबालिकालाई संक्रमण भई निको भएको २८ दिनपछि नियमित खोप लगाउन सकिन्छ। निको भएपछि चिकित्सकको सल्लाह लिएर पनि खोप लगाउन सकिन्छ। पहिलो खोप छुटेको छ भने पनि दिन पर्छ।’
यी खोपले बालबालिकाको स्वास्थ्यमा कुनै असर नहुने उनको भनाई छ।
कुन खोप कहिले दिनुपर्छ?
बच्चा जन्मिने वित्तिकै बिसिजी खोप
६ हप्तापछि रोटा, पोलियो, एफआइपिभी,पिसिजी, डिपीटी,हेप बी हिब
१० हप्तापछि रोटा, पोलियो, पिसिभी, डिपीटि, हेप बी हिब
१४ हप्तामा पोलियो,एफआइपिभी, डिपिटी, हेप बी हिब
९ महिनामा पिसिभी, दादुरारुबेला
१२ महिनामा जापानिज इन्सेफ्लाइटिस
१५ महिनामा दादुरा रुबेला