काठमाडौं- सरकारले नेकपा एमाले भातृ संस्था युवा संघका उपाध्यक्ष नृपेन्द्र महतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा नियुक्त गरेको छ। प्रतिष्ठानका सहकुलपति समेत रहेका निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री तामाङले मन्त्रीबाट हटेपछि पुरानो मिति राखेर महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले महतसहित तीन जनाको नाम मन्त्री तामाङलाई सिफारिस गरेका थिए।
असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए। उनी मेलम्चीमा नै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतले तामाङ सहित २० जना जिम्मेवारीमुक्त भएका थिए।
जिम्मेवारीमुक्त भएपछि मन्त्री तामाङले युवा संघका उपाध्यक्ष महतलाई असार ३ गतेको मितिमा रजिष्ट्रारमा नियुक्त गरेको पत्र तयार पारेको मन्त्रालयका कर्मचारीले आरोप लगाएका छन्।
'असार ८ गतेसम्म रजिष्ट्रार नियुक्त भएको थिएन,' मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, 'तर अहिले एक्कसी पुरानो मिति राखेर उहाँलाई नियुक्त गरिएछ।'
मन्त्रालय स्रोतका अनुसार नवनियुक्त रजिष्ट्रार महतले ९ गते बुधबार रजिष्ट्रारको नियुक्ति पत्र बुझेका छन्।
प्रतिष्ठान ऐन अनुसार उपकुलपतिको सिफारिसमा सहकुलपतिले रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ। रजिष्ट्रार पदको कार्यकाल चार बर्षको रहनेछ।
गत जेठ १६ मा रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षे पदावधि सकिएपछि उक्त पद खाली थियो।