काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार मन्त्रालयमा पुगेर पदवहाली गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिएपछि उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदवहाली गरेका हुन्।
शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताएका छन्।
उनले जोखिम मोलेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान हुनुपर्ने बताएका छन्।
मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।
स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठ दिउँसो २ बजे श्रम मन्त्रालय र साढे ३ बजे वन मन्त्रालयमा पुगेर पदभार ग्रहणको कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषदमा हाल पाँच सदस्य मात्र छन् ।
अन्य मन्त्रीहरुको पद अदालतको आदेशपछि खाजेर भएपछि मन्त्री श्रेष्ठले ५ वटा मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।