काठमाडौं- कोरोनाको उपचारमा प्रयोग गरिदै आएको रेमडिसिभिर औषधिको स्वदेशमै उत्पादन सुरु भएको छ। वीरगञ्जमा कारखाना रहेको नेशनल हेल्थ केयरले रेमडिसिभिर औषधिको उत्पादन सुरु गरेको हो।
उत्पादित उक्त औषधि बिक्रि वितरणका लागि बजारमा समेत पुगिसकेको नेसनल हेल्थ केयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले जानकारी दिए।
वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति भएको कम्पनीले आइतबार मात्रै बजारमा बिक्रि वितरणका लागि अनुमति पाएको थियो।
बिक्रि वितरणका लागि अनुमति पाएसँगै रेमडिसिभिर औषधि माग भएको ठाउँमा पठाउन सुरु गरिएको पाण्डेले जानकारी दिए। हाल १५ हजार भाइल औषधि तयारी अवस्थामा राखिएको उनले बताए। उनका अनुसार कम्पनीले माग अनुसार उत्पादन बढाउँदै लैजाने जनाएको छ।
उनले भने, ‘हाल हामीले १५ हजार भाइल औषधि उत्पादन गरेर तयारी अवस्थामा राखेका छौँ। आगामी दिनमा माग अनुसार औषधिको उत्पादन गर्न कम्पनी तयार छ।’
नेशनल हेल्थ केयरद्धारा उत्पादित रेमडिसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ। कम्पनीले प्रति भाइल औषधिको खुद्रा मूल्य ३५ सय तोकेको छ।
उक्त औषधि नेशनल हेल्थकेयरको मार्केटिङ डिभिजन ओटिभाबाट नेपालभरी ओटिभा डिभिजनका डिस्ट्रिब्युटर्स मार्फत उपलब्ध गराउने कम्पनीले जनाएको छ। कोरोना महामारीको समयमा रेमडिसिभिर औषधिको अभाव हुन नदिने कम्पनीको दाबी छ।