काठमाडौं- ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कर्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका आजदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौँ शिखर सम्मेलन सुरु हुँदैछ। सम्मेलन आज र भोली हुनेछ।
यसअघि हरेक वर्ष अप्रिल १० देखि १२ गतेसम्म संचालन हुँदै आएको सम्मेलन यसवर्ष कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गर्न लागेको यो सम्मेलन यसपटक पनि भर्चुअल माध्यमबाट हुन लागेको छ। कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै यसपटक पनि परिषद्को कार्यालयबाटै भर्चुअल रुपमा सम्मेलन गर्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले गर्ने उद्घाटन कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को दक्षिण पूर्वी एसियाकी प्रमुख डा पुनम क्षेत्रपालसिंहले मुख्य वक्ताको रुपमा सम्बोधन गर्ने बताइएको छ।
सम्मेलनमा विशेष वक्ताको रुपमा अक्सफोर्ड युनिभर्सिटी युकेका प्राडा सर पिटर हर्बेलाई पनि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ।
सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा भएका ४७ वटा अनुसन्धान मुलक कार्यहरुको मौखिक प्रस्तुति, १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुती रहने बताए।
परिषद्ले यस सम्मेलनद्धारा स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न, असल अनुशासनको संस्कारको विकास गर्न र अनुसन्धानबाट प्राप्त नतिजालाई स्वास्थ्य क्षेत्रको योजना नीति, तथा कार्यक्रम गर्न पैरवी गर्ने विश्वास परिषद्को छ।
दुईदिने सम्मेलनको पहिलो दिनमा कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धि आमन्त्रित विज्ञहरु र प्रस्तुतकर्ताहरुको प्रस्तुति रहनेछ।
सम्मेलनको दोस्रो दिन स्वास्थ्य तथा जनसंख्याका विभिन्न ६ वटा जसमा मातृ तथ नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु, षोषण, मानसिक स्वास्थ्य र दुव्र्यसन, वातावरणीय स्वास्थ्य, औषधिजन्य र वायोमेडिकल अनुसन्धान लगायतका विषयहरुमा प्रस्तुतिकरण हुने परिषद्ले जानकारी दिएको छ।
सम्मेलनको अन्तिम दिन विभिन्न विधामा उत्कृष्ट भएका ९ अनुसन्धानकर्ताहरुलाई अवार्डद्वारा सम्मानित गरिने छ।