काठमाडौं - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको नि:शुल्क स्वास्थ्य बिमा सुरु भएको छ।
शुक्रराज अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका एचआइभी संक्रमितको बिहीबारदेखि नि:शुल्क स्वास्थ्य बिमा सुरु भएको हो। निशुल्क स्वास्थ्य बिमा सुरु भएसँगै शुक्रराज अस्पतालमा नियमित एआरटी औषधि सेवन गरिरहेका २ हजार ११ जना लाभान्वित हुने अस्पतालका नवनियुक्त निर्देशक डा अनुप बास्तोलाले बताए।
उनले भने, ‘हामीले आजदेखि यहाँ नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुको निशुल्क स्वास्थ्य बिमा सुरु गरेका छौँ। यसले उनीहरु धेरै कुरामा लाभान्वित हुनेछन्।’
स्वास्थ्य बिमा बोर्डले यसअघि पहिले नै एचआइभी संक्रमितको निशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको थियो। एचआइभी संक्रमितहरुले रगत परीक्षण, एचआइभी भाइरल लोड, विभिन्न सरुवा लगायतको परीक्षण गर्नुपर्ने हुन्छ। ती परीक्षणहरु अबदेखि उनीहरुका लागि शुक्रराज अस्पतालमा निशुल्क हुने निर्देशक डा बास्तोलाले बताए।
उनले भने, ‘उहाँहरुले रगत परीक्षणदेखि विभिन्न परीक्षण तथा निदान गर्नुपर्ने हुन्छ। जसमा अबदेखि उहाँहरुले खासै खर्च गर्नुपर्ने अवस्था हुँदैन। यसले गर्दा उहाँहरुको आर्थिक पक्षमा सहयोग गर्छ।’
स्वास्थ्य बिमामा आवद्ध भएका एचआइसी संक्रमितहरुले वार्षिक एक लाख रुपैयाँसम्मको नि:शुल्क उपचार पाउनेछन्।
शुक्रराज अस्पतालमा उपलब्ध नभएका सेवा लिन अन्य अस्पतालमा रेफर भएमा अन्य अस्पतालमा लिँदा पनि स्वास्थ्य बिमाको कानुन अनुसार सेवा लिन सक्ने उनले बताए।
बिमा नियमावली अनुसार पाँच जनासम्मको सदस्य रहेको परिवारका लागि प्रति परिवार प्रति वर्ष एक लाख रुपैयाँसम्म, पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा प्रति सदस्य थप बीस हजार रुपैयाँका दरले प्रति वर्ष अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार लगायतका सेवा सुविधा पाउने व्यवस्था छ।
डा बास्तोला निर्देशक नियुक्त भएपछि उनले रेडियोलोजी अन्तर्गत सिटी स्क्यान सेवामा थप सिटी एन्जीओ परीक्षण सेवा विस्तार समेत गरेका थिए। साथै अस्पतालको हाताभित्र सञ्चालनमा रहेका अस्पतालको फार्मेसीलाई २४ सै घण्टा खुला राख्ने उनले निर्णय गरेका थिए।