काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पेटसम्बन्धी सम्पूर्ण रोगहरुको शल्यक्रिया हेर्नेगरी बेग्लै ग्यास्ट्रो सर्जरी विभाग स्थापना भएको छ।
यो विभाग स्थापना भएसँगै अब त्रिवि शिक्षण अस्पतालमा पेटसम्बन्धी सबै रोगहरुको पूर्ण विशेषज्ञता उपलब्ध हुनेछ।
'डिपार्टमेन्ट अफ सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजीको सुरुवातले हाम्रो एउटा सपना साकार भएको छ', विभागका प्रा डा रमेशसिंह भण्डारीले भने, 'यो विशेषज्ञ शल्यचिकित्सामा ठूलो उपलब्धि हो, यसका लागि सहयोग गर्ने सबैप्रति हामी आभारी छौं।'
विभागको नेतृत्व प्रा डा पलेश्वा जोशी लोखेले गर्नेछिन्। विभागमा प्रा डा भण्डारीसहितको ग्यास्ट्रो सर्जरीका विशेषज्ञ चिकित्सकको टिम हुनेछ। विभागको स्थापनासँगै आमाशय, कलेजो, पित्तथैली तथा पित्तनली, आन्द्रा लगायत पेटसँग सम्बन्धित सर्जरीका 'सुपर स्पेसियालिटी' सेवा उपलब्ध हुनेछन्। यी अंगहरुका क्यान्सर तथा गैरक्यान्सर दुवैखाले सर्जरी सेवा उपलब्ध हुने प्रा डा भण्डारीले बताए।
त्रिवि शिक्षण अस्पतालमा केही समयअघि सुरु भएको कलेजो प्रत्यारोपण यूनिट पनि अब यही विभागअन्तर्गत् रहनेछ। डा भण्डारीकै पहल र नेतृत्वमा त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको थियो।