काठमाडौं - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितता तथा बेथिति सुधारको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
प्रतिष्ठानमा अध्ययनरत र पास आउट भएका विद्यार्थीहरु, डा गोविन्द केसी अलाइन्स र नागरिक अगुवाहरुले धरानमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका हुन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भूपू विद्यार्थी एवं कान्ति बाल अस्पतालमा कार्यरत डा कुम्भ जोशीले प्रतिष्ठानको सुधारका लागि शुद्धिकरण आवश्यक भएको बताए। प्रतिष्ठान गलत व्यक्तिले नेतृत्व गरेका कारण अनियमितता, भ्रष्टाचार र बेथिति मौलाउँदै गएको उनको भनाई छ।
उनले भने, ‘यो शिक्षण संस्थाको गरिमालाई बुझ्न सकेनौ भने यसको शुद्धिकरण हुन सक्दैन। अनियमितता, भ्रष्टाचारमा संलग्नलाई छानबीन गरी दोषिलाई कारबाही गर्नुपर्छ। तब मात्र शुद्धिकरण हुन सक्छ।’
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(7).jpg)
प्रतिष्ठानमा हुने यस किसिमको अनियमितताका कारण स्वास्थ्य सेवा लगायत विद्यार्थीको पढाई प्रभावित हुने गरेको उनले बताए।
अर्का भूपू विद्यार्थी डा जनक अधिकारीले प्रतिष्ठानको सुधारका लागि सडकमा उत्रन बाध्य भएको बताए। प्रतिष्ठानमा यसरी नै अनियमितता र भ्रष्टाचार मौलाउँदै गए सुलभ स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रम हराएर जाने उनले बताए।
गलत व्यक्तिको नेतृत्वका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचारले थलिदै गएको उनको भनाई छ। प्रतिष्ठान सुधारका लागि सही नेतृत्वको आवश्यक रहेको उनले बताए।
उनले भने, ‘सही प्रणालीको आवश्यक छ। यस्तो नियम कानून बनाउन आवश्यक छ, जसले प्रतिष्ठानको नेतृत्वमा सबल व्यक्ति मात्र पुगोस्। भ्रष्टाचार गर्न पनि डराउने किसिमको कानून आउन आवश्यक छ।’
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत प्रशान्त राईले प्रतिष्ठानमा अनियमितता, भ्रष्टाचारलाई जरैदेखि उखेल्न आवश्यक रहेको बताउँछन्। प्रतिष्ठानमा हुने यस किसिमको हर्कतले आफुहरुको अध्ययनमा नकारात्मक असर परेको उनले बताए।
उनले भने, ‘यो प्रतिष्ठानमा अनियमितता, भ्रष्टाचार हुनु भएन। बिरामीले राम्रो सेवा पाउनुपर्यो। हामी विद्यार्थीहरुको पढ्ने वातावरण हुनुपर्यो भन्ने हाम्रो मुख्य मागहरु हुन्।’
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(5).jpg)
प्रतिष्ठानमा रेक्टर, डिन, उपकुलपति, अस्पतालका निर्देशक पदाधिकारीले तत्काल राजिनामा दिनुपर्ने उनले बताए। प्रतिष्ठानको पदाधिकारी राजीतिक भागबण्डाका आधारमा भन्दा पनि मेरिटका आधारमा नियुक्ति गरिनुपर्ने उनले बताए।
प्रतिष्ठानको शुद्धिकरणका लागि भन्दै धरानमा आन्दोलनरत विद्यार्थीहरुले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समिति गठन गरेका छन्। प्रतिष्ठानको विकास र सुधारका लागि असार १ गतेदेखि त्यहाँ आन्दोलन भइरहेको छ।
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(1).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(2).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(3).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(4).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(6).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(9).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(10).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(11).jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-25/bp%20pratishtan%20maitighar/bp%20maitighar%20(12).jpg)
तस्बिर : निमेष जंग राई