काठमाडौं- कोभिड यूनिफाइड केन्द्रीय (वीर) अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले 'सेटिङ'मा आफ्नै व्यापारिक साझेदार (पार्टनर)लाई एक पछि अर्को ठेक्का उपलब्ध गराएका छन्।
दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।
अस्पतालले आज सोमबार बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ। उक्त सूचना अनुसार म्याग्सिमलाई प्यासेन्ट मोनिटर खरिदका लागि २ करोड ७६ लाख ८५ हजारको ठेक्का परेको छ। डा गौतमले भुसालकै कम्पनीलाई मिल्ने गरी स्पेसिफिकेसन तयार गर्नेदेखि सामान ल्याएर उपलब्ध गराउनेसम्मको समय मिलाएको अस्पताल स्रोतले जानकारी दिए।
डा गौतमले शक्तिको दुरुपयोग गर्दै आफ्नै व्यावसायिक पार्टनर भुसालको कम्पनीलाई शनिबार १२ करोड ४३ लाख रुपैयाँ बराबरको हाई इन्ड क्रिटिकल केयर भेन्टिलेटर खरिदको जिम्मा दिएका थिए।
'उहाँले उक्त कम्पनीलाई पहिले नै यो यो सामान किनेर राख्नु भनेर भन्नुहुन्छ' स्रोतले भन्यो 'अनि टेण्डर निकाल्दा त्यही अनुसारका शर्त राखेर त्यही कम्पनीले मात्र सामान उपलब्ध गराउने गरी सेटिङ भएको छ।' स्रोतका अनुसार डा गौतमले अख्तियारमा समेत आफ्नो पहुँच रहेको भन्दै वीरका कर्मचारीलाई उजुरी हाले पनि केही फरक नपर्ने भन्दै धम्की दिने गरेका छन्।
म्याग्सिमका भुसाल र डा गौतम क्यान्भास एजुकेशनल फाउन्डेसनका व्यावसायिक साझेदार हुन्। स्वास्थ्य मन्त्रालयको प्रवक्ता भएपछि उक्त विषय बाहिर आउन सक्ने भन्दै डा गौतमले क्यानभासको सेयर कागजी रुपमा भुसाललाई बिक्री गरेका छन्। डा गौतमले गत फागुनमा भुसाललाई क्यान्भासमा रहेको ३० हजार कित्ता सेयर बिक्री गरेको कागजपत्र बनाएका छन्।
म्याग्सिम मेडिकल क्षेत्रमा नयाँ कम्पनी हो। कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७२ जेठ ३१ गते दर्ता भएको उक्त कम्पनीले दुई वर्ष मात्र मेडिकल सामग्रीको काम गर्न सुरु गरेको हो। डा जागेश्वरकै योजना अनुसार म्याग्समिले २०७६ असार ११ गते मेडिकल सामग्रीको कारोबार गर्ने भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट स्वीकृति लिएको छ। त्यसअघि कम्पनीले हर्डवेयर, इलेक्ट्रोनिक्स तथा किचेन वेयरको कारोबार गर्दै आएको थियो।
तर ०७६ असार ३ गते म्याग्सिमले हस्पिटल इक्युपमेन्ट र सर्जिकल सामग्रीको कारोबार गर्ने भन्दै कारोबारको दायरा थप गरेको हो। करोबार थप गरेर म्याग्सिमले ४०२०/०७५/७६ दर्ता प्रमाणपत्र लिएको देखिन्छ। यो आधारमा हेर्दा म्याग्सिमले मेडिकल क्षेत्रको कारोबार गर्न अनुमति लिएको २ वर्ष मात्र पुगेको छ।
यो पनि:
डा जागेश्वर गौतमले आफ्नै व्यावसायिक 'पार्टनर'लाई दिए १२ करोड ४३ लाखको खरिद ठेक्का