काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनरत पक्षसँग वार्ताको समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ सहितको टोली धरान पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय सोमबार धरान पुगेका हुन्।
उनीहरुले आन्दोलनरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसँग उनीहरुको मागको विषयमा जानकारी लिएका छन्।
आन्दोलनरत पक्षले डा पोखरेल र डा उपाध्यायसँग आफ्नो माग र प्रतिष्ठानको ४ जना पदाधिकारीको वहिर्गमनको विषयलाई मुख्य जोड दिएका छन्।
उनीहरुले आफ्ना मागहरुको अल्पकालिन र दीर्घकालिन समाधानका सुझाव समेत डा पोखरेल र डा उपाध्यायलाई दिएका छन्।
प्रतिष्ठानको संयुक्त आन्दोलन समितिका सदस्य डा अमृत जैशीका अनुसार मन्त्रालयबाट आएको टोलीले यहाँको अवस्था बुझेर प्रतिवेदन तयार परेर मंगलबार नै प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बुझाउने छन्।
प्रतिष्ठान सुधारका विभिन्न मागहरु राख्दै प्रतिष्ठाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु असार १ गतेदेखि आन्दोलनमा छन्।