काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएको चिकित्सकको टोलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाका आन्दोलनरत स्वास्थ्यकर्मीसँग छलफल गरेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिसँग स्वास्थ्य मन्त्रालयबाट गएका मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र डा मदन उपाध्यायले छलफल गरेका हुन्।
स्वास्थ्य मन्त्रालयबाट छलफलका लागि आएका टोलीसँग प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले आफ्ना मागहरु प्रस्तुत गरेका छन्। तर सरकारले औपचारिक वार्ता टोली गठन नगरेकाले स्वास्थ्य मन्त्रालयका प्रतनिधिसँग भएको वार्ता अनौपचारिक मात्र भएको आन्दोलनरत पक्षले जनाएका छन्।
उनीहरुले आफूहरुको १२ बुंदे माग सम्बोधनका लागि स्वास्थ्य मन्त्रालयका टोलीसँग तीनबुँदे अठान समेत पेस गरेका छन्।
प्रतिष्ठानमा देखिएका समस्याको अल्पकालीन एवम दीर्घकालीन समाधानको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नसक्ने एवम् आफूहरुले प्रष्ट रुपमा र बस्तुगत रुपमा उठाएका १२ बुँदे माग सम्बोधन गर्न प्रधानमन्त्री एवम् कुलपतिले अग्रसरतामा अधिकार सम्पन्न, उच्चस्तरीय वार्ता टोली अविलम्ब गठन गरिनुपर्ने आन्दोलनरत पक्षको माग छ।
यस्तै, गत असार १५ गते उपकुलपतिले वार्तामा बोलाएर आफै मादक पदार्थ सेवन गरी आएको विषयलाई तत्काल सम्बन्धित निकायले छानविन गर्ने र कारवाहीको प्रकृया अगाडि बढाउनुपर्ने र नेपालका कुनै पनि स्वास्थ्य एवं शैक्षिक संस्थाहरुमा पदाधिकारीहरूको नियुक्तिको मापदण्ड सार्वजनिक गर्ने, नियुक्त पदाधिकारी कुन मापदण्डबाट र के के प्रतिज्ञा गरी छनौट गरिएको हो सो कुरा छनौट हुनासाथ सार्वजनिक गर्ने व्यवस्था तत्काल गर्ने, छनौट भएका पदाधिकारीले गरेका प्रतिज्ञा पूरा भएको/नभएको हरेक ६–६ महिनामा सम्बन्धित निकायले सुपरिवेक्षण गर्ने र सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
उनीहरुले आफ्ना माहरु पुरा नभए बिरोधका कार्यक्रम जारी राख्दै थप कडा कार्यक्रम सार्वजनिक गर्दैजाने चेतावनी समेत दिएका छन्।