काठमाडौं- नेपालमा अबको एक महिनाभित्र जोन्सन एण्ड जोन्सनको कोभिड विरुद्धको खोप आउने पक्का भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स फ्यासिलिटी मार्फत जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप आउने जानकारी दिएको हो।
मन्त्रालयले खोप आउने पक्का भएपछि आयात अनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्र पठाएको छ।
'कोभ्याक्स फ्यासिलिटि मार्फत नेपाललाई प्राप्त हुने जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८५० डोज कोभिड भ्याक्सिन (५ डोज/भाइल) नेपाल आयात गर्नका लागि अनुमति प्रदान गरिदिनुहुन निर्देशानुसार अनुरोध छ' मन्त्रालयले विभागमा पठाएको पत्रमा उल्लेख छ।
उक्त पत्रपछि विभागले बिहीबार अनुमतिका लागि बाटो खुलाउने सम्भावना रहेको विभागका एक कर्मचारीले जानकारी दिए।
कोभ्याक्स अन्तर्गत सुरुमा जोन्सन एन्ड जोन्सनबाट ६ लाख डोज खोप आउने बताइएको थियो। तर उक्त संख्यामा थप हुने जानकारी आएपछि नेपालले १० लाख डोज आउन सक्ने अनुमान गरेको थियो। तर अहिले १५ लाख भन्दा बढी खोप आउने निश्चित भएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
कोरोना विरुद्ध बनेका अन्य खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। नेपाल सरकारले सोझै जोन्सन एण्ड जोन्सनको कम्पनीसँग खरीद गर्ने गरी प्रयास गरेको थियो। यसका लागि छलफलको प्रक्रिया समेत अगाडि बढेको थियो। तर कम्पनीले उपलब्ध गराउन नसक्ने बताएको थियो।
नेपालमा कोभ्याक्स फ्यासिलिटी मार्फत अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ। कोभ्याक्सले कुल जनसख्ंयाको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।