काठमाडौं- सरकारले वीर अस्पतालको बेड (शय्या) संख्या थप गर्ने निर्णय गरेको छ। ४६० शय्या रहेको वीरमा सरकारले ५०६ शय्या थप गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै वीर अस्पताल अब ९६६ शय्याको हुने भएको छ।
शय्या थप गरेसँगै सरकारले वीर अस्पतालमा ८३१ जनाको पुल दरबन्दी समेत थप गरेको छ। वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेका कारण तत्काललाई पुल दरबन्दी थप गरिएको हो। प्रतिष्ठानको आफ्नै ऐन छ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार वीर अस्पतालमा १२ औं तहका कर्मचारी कार्यकारी निर्देशक रहने गरी पुल दरबन्दी थपिएको हो। असार २१ गते बसेको बैठकले दरबन्दी र शय्या थप गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णय अनुसार अब वीर अस्पतालमा पुल दरबन्दीमा थपिएका ८३१ जनासहित १ हजार ५१८ जनाको दरबन्दी भएको छ।
यसका साथै वीरमा पहिला १९ वटा विभाग थिए भने त्यसलाई बढाएर २९ र ७ वटा इकाईलाई बढाएर ९ पुर्याइएको छ।
कुन पदमा कति थपिए?
स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार वीरमा १२औं तहका कार्यकारी निर्देशकसहित प्रशासनतर्फको सहसचिव पनि १ जनाको दरबन्दी राखिएको छ।
यस्तै विभिन्न समूहमा ११ औं तहका १७ जना, ९ र १० औं तहका ११६ जना, ८ औं तहका मेडिकल अफिसर ४९ जना, डेन्टल सर्जन ४ जना, नर्सिङ अधिकृत ७ र ८ औं तहका १९ जना, ७ र ८ औं तहका प्राविधिक अधिकृत ३३ जना, रा प तृतिय प्रशासन लेखा विविध २ जना, रा प अनंकृत प्रथम प्रशासन लेखा ११ जना, स्टाफ नर्स ५/६/७ औं तहमा ६८५, स्वास्थ्य प्राविधिक ५३ जना र १५५ जना श्रेणीविहिन कर्माचारीको दरबन्दी थप भएको छ।