काठमाडौं- कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो चरणकाे लिए नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
निगमका अनुसार चालकदलका १२ सदस्यसहित बिहीबार चीन गएको जहाज आज बिहान काठमाडौंमा अवतरण भएको हो। नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोप मध्ये पहिलो चरणकाे शुक्रवार आइपुगेको हो। नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ।
पहिलो चरणमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो। सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्याउन सुरु गरेको हो।
अब असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ।