काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि शुक्रबार बैठक बस्ने तयारी भएको थियो। सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्ने उद्देश्यसहित बैठक बस्ने भनिएको थियो। तर बैठक भने बसेन।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार सचिवका लागि नाम सिफारिस गर्नका लागि पर्याप्त विवरण नआएपछि बैठक नबसेको हो। बैठक नबस्दा आगामी सोमबारको मन्त्रिपरिषद्बाट स्वास्थ्य सेवातर्फका सचिव नियुक्त हुने सम्भावना कम भएको छ।
झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवातर्फका सचिव पदपूर्ति लागि प्रक्रिया सुरु भएको हो। तर बैठक नबस्दा उक्त प्रक्रिया भने लम्बिन पुगेको छ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्वास्थ्य सेवातर्फको सचिवका लागि नाम सिफारिस लागि प्रारम्भिक छलफल भएको थियो। उक्त छलफलमा आज शुक्रबार सिफारिस समितिको बैठक बसेर स्वास्थ्य सचिवका लागि नाम सिफारिस गर्ने भनिएको थियो।
‘स्वास्थ्य सचिवको नाम सिफारिसका लागि आवश्यक पर्ने सम्पूर्ण विवरण आइपुगेन। त्यसैले केही दिन लाग्ने भयो। सोमबारको मन्त्रिपरिषदमा पठाउन नभ्याउने भएपछि मंगलबार वा बुधबार बैठक बस्ने सम्भावना छ,’ स्रोतले भन्यो।
बिहीबार सामान्य प्रशासन मन्त्रालयमा लोकसेवा आयोगका अध्यक्ष, सामान्य प्रशासन मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव र विज्ञ सम्मिलित टोलीले प्रारम्भिक छलफल गरेको थियो।
गत असार २१ गते बसेको मन्त्रिपरिषद्ले बैठकले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पदको दरबन्दी स्वीकृत गरेपछि स्वास्थ्य सचिवका लागि प्रक्रिया अघि बढेको हो।
पूर्व स्वास्थ्य सचिव डाक्टर किरण रेग्मीलाई स्वास्थ्य सेवातर्फको सचिव सिफारिसका लागि विज्ञको रुपमा मनोनय गरिएको छ।
मन्त्रिपरिषदबाट स्वास्थ्य सचिवको दरबन्दी थप भएपछि सामान्य प्रशासनले स्वास्थ्य मन्त्रालयसँग कानुनअनुसार योग्यता पुगेको उम्मेदवारको नामावली मागेको थियो।
स्वास्थ्य मन्त्रालयले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली पठाइसकेको छ। नामावली सहित समितिले थप विवरण माग गरेका कारण शुक्रबार विवरण नपुगेको हो।
स्वास्थ्य सचिवका लागि प्रमुख विशेषज्ञ र ११ औँ तहबाट ५ वर्ष समायवधि पुगेका व्यक्ति सचिव बन्न सक्ने व्यवस्था छ। ‘ऐनमा व्यवस्था भएकाले ११ औँ तहका समय पुगेका व्यक्तिको नावालवी आएपछि तीन जान प्रमुख विशेषज्ञ नै भएकाले तिनै जनामध्येबाटै नाम सिफारिस हुने सम्भावना बढी छ,’ स्रोतले भन्यो।
अहिले स्वास्थ्य मन्त्रालयको १२औं तहका प्रमुख विशेषज्ञका रुपमा डाक्टर रोशन पोखरेल, डाक्टर दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ छन्।
स्वास्थ्य मन्त्रालयमा २०७६ पुस २१ गतेदेखि स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त छ। त्यसयता स्वास्थ्यमा प्रशासन तर्फका सात जना सचिव भइसकेका छन्। सातौ सचिवका रुपमा लक्ष्मण अर्याल छन्। २०७६ पुस २१ गते स्वास्थ्य सचिव डा पुष्पा चौधरीले दिएको राजीनामा स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फको सचिव पद रिक्त भएको छ।
डाक्टर चौधरीले राजिनामा दिएपछि मन्त्रालयमा प्रशासनतर्फका सचिवको लागि पटकपटक कुरा उठेपनि सुनुवाई भएको थिएन।
सरकारले स्वास्थ्य सचिव रहेकी डा चौधरीलाई २०७५ मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्यमा सचिवको विवाद सुरु भएको हो।
स्वास्थ्य सेवाकी सचिव डाक्टर पुष्पा दरबन्दी नै नभएको ठाउँमा तानिएको भन्दै न्यायको माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालत पुगिन्। अदालतले आदेशपछि उनी पुनः स्वास्थ्य मन्त्रालय आइन्।
सरकारले सोही मौकामा स्वास्थ्य मन्त्रालयमा प्रशासन सेवाका सचिव केदारबहादुर अधिकारीलाई पठायो। अदालतले डा पुष्पालाई स्वास्थ्यबाट सरुवा नगर्न सरकारलाई आदेश दिएपछि पुष्पा पनि मन्त्रालयमा पुगिन्।
जसका कारण डा पुष्पा र अधिकारीबीच सचिवको कुर्सीमा बस्न म्युजिकल चेयरको खेल नै चलेको थियो।
त्यसपछि सरकारले मन्त्रालयमा स्वास्थ्य र प्रशासन गरी दुई जना सचिवको दरबन्दीको व्यवस्था गर्यो। दुई जना सचिव भएपछि काम र जिम्मेवारीका विषयमा विवाद उत्पन्न सुरु भएको हो।