काठमाडौं- झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर अनुगमन टोलीका सदस्य डा भोजराज अधिकारी टोलीबाट अलग भएका छन्।
डा अधिकारीले चिकित्सा शिक्षा आयोगका अध्यक्ष र कार्यकारी समितिलाई पत्र लेख्दै प्रस्तावित बिएण्डसी मेडिकल कलेजको अनुगमनमा टोलीबाट भए गरेका काममा आफ्नो कुनै संलग्नता नरहेको र प्रतिवेदन समेत बुझाउन नसक्ने जानकारी गराएका हुन्।
बिएण्डसीको अनुगमनका लागि आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले गठन गरेको तीन सदस्यीय अनुमगन टोलीमा डा अधिकारी सदस्य थिए। डा प्रकाश राज पाण्डे संयोजक रहेको टोलीले बिएण्डसीको अनुगमन गर्न असार ६ गते झापा पुगेको थियो। टोलीले असार ७ र ८ गते बिएण्डसीको अनुगमन गरेको थियो।
डा अधिकारी आयोगका उपाध्यक्ष डा गिरी र बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंबीच अदालतमा बिचाराधिन रहेको गाली बेइजती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका थिए।
डा अधिकारीले उक्त कुरा आयोगका अध्यक्ष र कार्यकारी समितिलाई पठाएको पत्रमा पनि उक्त कुरा उल्लेख गरेका छन्। उनले आफू मुद्दामा साक्षी बसे पनि गिरी र प्रसाईंसँग कुनै लिनुदिनु नरहेको कुरा पनि पत्रमा उल्लेख गरेका छन्।
'मेरो कुनै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नहुँदा नहुँदै पनि विभिन्न पत्र पत्रिका लगायत सामाजिक सञ्जालमा समेत मेरो नाम जोडिएकाले नैतिकताको आधारमा सो अनुगमन टोलीबाट भए गरेका काममा मेरो कुनै संलग्नता नरहने र प्रतिवेदन बुझाउन नसक्ने व्यहोरा अनुरोध गर्दछु' पत्रमा लेखिएको छ, 'यसमा डा श्रीकृष्ण गिरी र दुर्गा प्रसाईंसँग मेरो कुनै लिनु दिनु छैन।'
अनुगमन टोलीमा डा गिरीको मुद्दामा साझी बसेका अधिकारीलाई राखेपछि विवाद शुरु भएको थियो। प्रसाईंले मुद्दाका साझीलाई नै अनुगमनमा राख्नु नैतिकताका हिसाबले पनि गलत भएको भन्दै प्रश्न उठाएका थिए।
उक्त कुरा बाहिर आएपछि अनुमगन टोलीका संयोजक डा पाण्डेले स्वार्थको द्वन्द्व हुने भन्दै प्रतिवेदन बुझाउन अस्वीकार गरेका थिए। डा अधिकारीले प्रतिवेदन सम्बन्धी कुनै कम नगरी फर्किएको कुरा पनि पत्रमा लेखेका छन्।
हेरौं पत्र