काठमाडौं– सरकारले अबको १ हप्ता भित्रै कोभिड-१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएपछि मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अबको १ हप्ता भित्रै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोभिड-१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउन शुरु गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले कोभिड-१९ सँग सम्बन्धित करिब आधा दर्जन निर्णयहरु भएको जानकारी दिए।
मन्त्री कार्कीले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारलाई आवश्यक सल्लाह दिन विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिए। यस्तै, २०७८ असोज मसान्तभित्र एक तिहाइ जनसंख्यालाई र चैत मसान्तभित्र खोप लगाउन योग्य सम्पूर्ण नेपाली नागरिकलाई कोभिड-१९ विरुद्ध पूर्ण मात्रामा खोप लगाउने सुनिश्चित गर्ने निर्णय गरिएको पनि कार्कीले जानकारी दिए।
कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको हिसाब सार्वजनिक गर्ने निर्णय भएको पनि कार्कीले जानकारी दिए।
कोभिड-१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक महिनाभित्र विशेष प्याकेज ल्याउने निर्णय पनि सरकाले गरेको छ।