काठमाडौं– संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ।
स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए।
उनका अनुसार शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्न लागिएको छ।
‘संघीय संसदको प्रतिनिधि र राष्ट्रिय सभा दुवै तर्फका सांसद, मर्यादापालक तथा कर्मचारीको कोरोना परीक्षण गराउने तयारी भइसकेको छ,’ पाण्डेले भने, ‘स्वास्थ्य मन्त्रालयसँग छलफल भएर भोलि एन्टिजेन विधिबाट सबैको कोरोना परीक्षण गर्ने निर्णय भइसकेको छ।’
कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सयजना हुने पाण्डेको भनाइ छ।
संघीय संसदको बैठक बस्ने तयारी भएकोले संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागेको हो।