काठमाडौं– सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र त्यहाँका समस्या बुझेर समाधानको सुझाव दिन अध्ययन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा बैकुण्ड अर्यालको संयोजकत्वमा अध्ययन समिति बनाइएको हो।
प्रधानमन्त्री कार्यालयका अनुसार अनुसार समितिमा ८ जना सदस्य छन्। समितिले प्रतिष्ठानमा भएका आन्दोलन र उनीहरुका माग तथा प्रतिष्ठानका अन्य विषयमा पनि जाँचबुझ गर्ने बताइएको छ।
बिपी प्रतिष्ठानको आन्दोलनबारे अध्ययन गर्न आफूलाई संयोजक तोकेर समिति गठन भएको सचिव अर्यालले जानकारी दिएका छन्।
बिपी प्रतिष्ठानमा प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै त्यसको छानविन तथा प्रतिष्ठानका विभिन्न समस्याहरु समाधान गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका प्राध्यापक चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा छन्।
प्रतिष्ठान शुद्धीकरणको अभियानसहित एक महिना अघिदेखि आन्दोलनमा रहेका आन्दोलनरत पक्षले आफूहरुको माग पुरा गर्ने प्रक्रिया सुरु नगरे स्वास्थ्य सेवामा सहभागी नहुने चेतावनी समेत दिएका छन्।