काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोन संवाद भएको छ।
संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई सकेसम्म छिटो कोभिडविरुद्धको खोप उपलब्ध गराउने वचन दिएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर प्रधानमन्त्री देउवालाई बधाइ दिएका थिए।
‘दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनेबारे छलफल गर्नुभयो’, परराष्ट्र मन्त्रालयले ट्विटमार्फत् भनेको छ, ‘भारतीय प्रधानमन्त्रीले चाँडै नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने वचन दिनुभएको छ।’
भारतीय प्रधानमन्त्री मोदीले पनि ट्विट गरेर आफूले नेपाली समकक्षी देउवालाई बधाई र सफल कार्यकालको शुभकामना दिएको उल्लेख गरेका छन्। ‘हामी भारत र नेपालकाबीच अझ बृहत सहकार्य गरेर काम गर्नेछौं जसमा कोरोना महामारीविरुद्धको लडाईं पनि सामेल छ।’