काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले ५ बुँदे माग अगाडि सारेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको र प्रधानमन्त्री देउवाले विश्वासको मत समेत लिइसकेपछि डा केसीले चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित ५ बुँदे माग अगाडि सारेका हुन्।
डा केसीले सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अगाडि सारेका छन्। डा केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताए।
डा केसीले भने, ‘सरकार परिवर्तन भयो। नयाँ सरकार आयो। हामी सुतेर बसेको ठान्छन् भनेर मेडिकल माफियाविरुद्ध खबरदारी गर्न आवश्यक छ।’
उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनका सबै मागहरु पूरा गनुपर्ने भनेर आफ्ना ५ बुँदे मागको पहिलो नम्बरमा राखेका छन्। भ्रष्टाचार प्रमाणीत भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न, राजनीतिक भागबण्डाका आधारमा नभइ योग्यता र क्षमताका आधारमा पदाधिकारी नियुक्त हुनुपर्ने पनि उनको माग छ।
चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउने, हस्तक्षेप गर्न खोज्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गर्नुपर्ने, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले ती नीति कार्यान्वयनको तयारी तत्काल गर्नुपर्ने, आफूसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने विषयलाई पनि डा केसीले अघि सारेका छन्।
आफ्ना मागहरु पूरा नभए सत्याग्रहसहित आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने डा केसीको चेतावनी छ।
‘सरकारसँग पटक–पटक भएका सम्झौताहरु अहिले पनि कार्यान्वयन भएको छैन। हामीले अहिले अघि सारेका यी मागहरु पूरा नभए पुनः सत्याग्रह सहितको आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुनेछौँ,’ उनले भने।
डा केसी यमनमा स्वास्थ्य सेवा गरी हालै मात्र नेपाल फर्किएका हुन्। उनले यमनमा तीन महिना सेवा गरेका थिए। यमनका अधिकांश मानिसहरु आर्थिक रुपमा कमजोर भएकाले स्वास्थ्य उपचारबाट बञ्चित रहेको पाइएको उनले बताए।