काठमाडौं- काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन अनलाइन दर्तालाई अनिवार्य गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउन पाउने जनाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा विद्युतीय दर्ता नम्बर लिएरमात्र खोप लगाउन पाउने भन्ने उल्लेख भएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
'मिति २०७८/०४/०१ को पत्रमा उल्लेख भएकोले काठमाडौं जिल्लाका ५० वर्ष वा सो भन्दा मुनिका (१८ बर्ष सम्म्का) नागरिक र अझै खोप लाउन छुटेको भए ५० वर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम स्वास्थ्य मन्त्रालयले तयार गरेको वेवसाइट मा गई दर्ता गराउनु हुन र सो दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा खोप लाउन जानू हुन अनुरोध छ' स्वास्थ्य कार्यालय काठमाडौंले भनेको छ।
सबै पालिकाहरुले पनि यो व्यहोरालाई आ-आफ्नो पालिका र वडाका नागरिकमा चेतना फैलाउनसमेत अनुरोध गरिएको छ।
पछिल्लो पटक ७ गतेसम्म सरकारले उपत्यकामा जोन्सन एन्ड जोनसनको खोप अभियान सञ्चालन गरेको थियो। चीनबाट ल्याइएको खोप केहीदिनपछि लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।