पोखरा- पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा काेभिड खोपको माग गरेका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था गर्नुपर्ने माग गरेको हो।
परिषद्का अध्यक्ष भट्टराईले पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताए। पोखरामा पर्यटन व्यवसायीका लागि २० हजार मात्रा आवश्यक भए पनि तत्कालका लागि पाँच हजार मात्रा उपलब्ध गराउन माग गरिएको उनले बताए। यसले पर्यटन बजारमा राम्रो सन्देश दिने उनकाे भनाइ छ।
रासस