काठमाडौं - काठमाडौंको टोखा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत वसन्त गैरे एक स्थानीवासिन्दाबाट कुटिएका छन्। ग्राण्डी अस्पतालको खोप केन्द्रमा भ्याक्सिन र भीड व्यवस्थापनका लागि पुगेका उनी शनिबार बिहान कुटिएका हुन्।
खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरी व्यक्तिहरु नबस्न उनी आग्रह गर्दै थिए। यही क्रममा लक्षित समूहमा नपर्ने एक व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थालेको उनले बताएका छन्। अस्पतालका सुरक्षाकर्मीले छुटाएपछि उनले भीडबाट अस्पताल भागेर ज्यान जोगाए।
‘लक्षित समूहमा नपर्ने व्यक्तिहरु लाइनमा बसेर कष्ट नगर्नु हुन अनुरोध मात्र के गर्न थालेको थिए, एक अपरिचित व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थाले। अस्पतालका सुरक्षाकर्मीले लछार पछार गर्ने व्यक्तिलाई छुटाए। पछि भीडबाट निस्किइ अस्पतालभित्र पुगेर ज्यान जोगाएँ’, उनले भने।
घटनास्थलमा प्रहरी आएपनि ती व्यक्तिले अपमानजनक शब्द प्रयोग गरेको र दुर्व्यवहार गरिरहेको गैरेले बताए। कुटपिट गर्ने टोखा नगरपालिका–३ का स्थानीयवासिन्दा भएको बताइएको छ। उनलाई हाल महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज लगिएको छ। आइतबार बिहानै जाहेरी दर्ता गर्ने तयारी भएको स्वास्थ्यकर्मी गैरेले बताए।