काठमाडौं - आज काठमाडौं महानगरपालिकाका वडाहरुमा कोरोना विरुद्धको खोप कार्यक्रम संचालन नहुने भएको छ।
महानगरपालिकालाई दिइएको खोप हिजो नै सकिएकोले आज खोप कार्यक्रम संचालन नहुने भएको छ। आज बुढानिलकण्ठ र गोकर्णेश्वरमा पनि खोप कार्यक्रम संचालन हुने छैन।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बुढानिलकण्ठमा खोप सकिएका कारण र गोकर्णेश्वरमा केही विवाद भएका कारण खोप कार्यक्रम संचालन नहुने बताए।
उनले भने,‘ महानगरपालिकाको हकमा आज वडाहरुमा आज खोप कार्यक्रम संचालन हुँदैन। तर, अत्यावश्यक सेवा कार्यरत व्यक्तिहरुका लागि राधास्वामी आइसोलेसन सेन्टर,प्रसुति गृह, काठमाडौं मेडिकल कलेज, शिक्षण अस्पताल र शसस्त्र प्रहरी अस्पताल र निजामति अस्पतालमा खोप केन्द्र संञ्चालन हुनेछ।’
काठमाडौं जिल्लामा चार दिनमा १ लाख ४५ हजार ५७४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्।
काठमाडौंमा साउन १४ गते बाट सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रम संचालन भएको हो। आइतबार जिल्लाका ६० वटा खोप केन्द्रबाट ३३ हजार १५६ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्।
६६ वटा खोप केन्द्रमध्ये शनिबार टोखा, गोकर्णेश्वर र बुढानिलकण्ठबाहेक अन्य पालिकामा ५७ खोप केन्द्रमा भएका थिए।
उनका अनुसार असार १४, १५ र १६ गते संचालन भएको खोप कार्यक्रममा एक लाख २४ हवार २१२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। १४ गते २० हजार ७०८, १५ गते ४६ हजार ३०६ र १६ गते ४६ हजार १९८ जनाले खोप लगाएका थिए।
काठमाडौं महानगरपालिकाका हरेक वडामा एक,एक गरी ३२ र ७ वटा अस्पताल गरी ३९ वटा खोप केन्द्र संचालन भएका थिए।
त्यसैगरि, विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।
तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिए।